नेपालमा पछिल्लो समय खेलकुद क्षेत्र व्यावसायिक बन्दै गएको छ । सामान्य पुरस्कार राशिका प्रतियोगिताका लागि समेत खेलाडीहरुले पारिश्रमिक पाउन थालेको अवस्था छ । यस्तो प्रथाले खेलाडीहरुमा प्रतिस्पर्धाको भावना विकास गर्नेछ भने खेलमा गुणस्तरीयता बढ्ने नै छ । खेलेर पनि खान सकिन्छ भन्ने अवस्थामा नेपाली खेलकुद अघि बढ्दै गएको छ । तर विगत एक वर्षदेखि कोरोनाबाट खेल क्षेत्र पनि नराम्रोसँग प्रताडित बनेको छ । पछिल्लो ३ महिनादेखि मात्र नेपालमा खेलकुद क्षेत्रले गति लिन थालेको हो । लामो समयसम्म बन्द अवस्थामा रहेका खेलाडीलाई फेरि खेलमा फर्कन निकै कठिन भए पनि विस्तारै खेल क्षेत्रले गति लिन थालेको देखिएको छ ।
विगत केही महिनायता मकवानपुरका खेलकुद कार्यक्रममा खेलाडी तथा खेल क्षेत्रका पदाधिकारीहरुको व्यस्तता बढेको छ । वडास्तरमा हुने साना प्रतियोगिताबाहेक जिल्लामा ठूला प्रतियोगिताहरु महिनैपिच्छे भएका छन् । माघ अन्तिमबाट विजय युथ क्लबको आयोजनामा भएको हेटौंडा गोल्डकपपछि हेटौंडासहित मकवानपुरमा खेलकुदका कार्यक्रमहरु निरन्तररुपमा भएका छन् । फागुनमा हेटौंडामा भएको नगरस्तरीय मेयर कप फुटबल तथा उपमेयर कप भलिबल प्रतियोगिताले हेटौंडाभरीका फुटबल र भलिबलका खेलाडीलाई प्रोत्साहन गरेको छ । सरकारीदेखि गैरसरकारी संघसंस्थाबाट निरन्तर हुने यस्ता प्रतियोगिताले खेलाडीहरुलाई आफ्नो लयमा फर्कनका लागि ठूलो सहयोग पुगिरहेको छ । लामो समयको बन्दाबन्दीपछि पनि जिल्लाका खेलाडीहरुको क्षमता यथावत नै हरेको दर्शकहरुले अनुभव गरेका छन् ।
शहीद स्मृति मकवानपुर गोल्डकप, बागमती गोल्डकप, जिल्लास्तरीय महिला भलिबल प्रतियोगितादेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्र चलायमान भएको छ भने त्यस क्षेत्रमा काम गर्ने पदाधिकारी तथा निर्णायक सबै व्यस्त भएका छन् । जति धेरै खेलकुद गतिविधि हुन्छन्, त्यति नै खेलाडीको क्षमता विकास हुनुका साथै आम नागरिकमा खेलप्रतिको धारणामा परिवर्तन हुने देखिन्छ । खेलकुद प्रतियोगिताले खेलाडी र दर्शकबीच सम्बन्ध विस्तार गर्नेदेखि समुदायबीचको एकतालाई थप दह्रिलो बनाउने गर्दछ । खेल भावनामा जात, धर्म, भाषा, लिङ्ग, क्षेत्र, वर्ग सबै पक्षबीचको सहकार्य समेटिने गर्दछ ।
ललाई समाज एकताको मुख्य आधार मानिन्छ । दर्शकदेखि खेलाडीसम्म एकता र भावनात्मक सम्बन्धको विकास गराउँदछ ।पिप्ले युवा क्लबले सार्लाहीमा जितेको पाचौं राजर्षि जनक कप रनिङशिल्ड फुटबलको १० लाख रुपैयाँ धनराशिको उपाधिलाई जिल्लाको हालसम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ । १० लाख धनराशिकै मकवानपुर गोल्डकपमा आयोजक उपविजेता र हेटौंडा गोल्डकपमा आयोजक नै विजेता बन्नु पनि उत्तिकै सम्मानजनक छ । फुटबलमै नेपालकै प्रतिष्ठित ए डिभिजन क्लब र विभागीय क्लबमा समेत मकवानपुरका डेढ दर्जन खेलाडी आबद्ध छन् । यस्तै अन्य खेलमा समेत मकवानपुरका खेलाडीले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गरेको अवस्था छ ।
यस्तै अन्तरपालिका जिल्ला फुटबल र जिल्ला लिगजस्ता प्रतियोगिता लाइनमा छन् । समग्रमा मकवानपुरमा अन्य खेल भन्दा फुटबलका प्रतियोगिता बढी देखिएका छन् । विस्तारै गति लिन थालेको खेलकुदमा फेरि कोरोनाको प्रकोपको छायाँ पर्ने त हैन भन्ने कुराबाट यो क्षेत्र फेरि चिन्तित देखिएको छ । अव व्यस्ततामा विश्राम लाग्नु हुँदैन ।