हेटौंडाः हेटौंडामा एकजना यस्तो भारतीय नागरिक भेटिए, जो अहिलेसम्म हेटौंडाबाहेक अन्य शहर गएका छैनन् । उनले हेटौंडालाई नै नेपाल भन्ने बुझेका छन् अझै पनि । उनी हुन् ३८ वर्षीय, रुपेश राम ।
विगत २१ वर्षदेखि रुपेश हेटौंडामा बसेर जुत्ता चप्पल सिलाउँदै अहिले त्रिपाल मर्मत गर्ने काम गर्छन् । विशेष गरेर मुख्य राजमार्गमा गुड्ने ट्रकहरुमा प्रयोग हुने ठूला खालका त्रिपालहरु सिलाउने काम उनले गर्दै आएका छन् ।
उनी हेटौंडा–११ स्थित थानाभर्याङ तौलपुल नजिकैको खुला स्थानमा काम गर्दै गर्दा भेटिएका हुन् । भारत रक्सौल घर भएको उनी नेपाल आएको दुई दशक बढी भएको छ । रक्सौलदेखि हेटौंडासम्म उनको स्टेशन नै हो । आफ्नो काम गर्यो, हप्ता या महिनामा एकपटक रक्सौल घर फर्कियो । यसरी नै उनको २१ वर्ष बित्यो । ‘लामो समयसम्म हेटौंडाबाहेक अन्य शहर घुमेको छैन’, उनले भने ।
नेपालमा भारतीय नागरिकहरु आएर काम गरेर आफ्नो जीविका चलाउने उनीमात्रै भने हैनन् । उनी आजभन्दा २१ वर्षअगाडि नेपालमा आफ्नो गाउँका एकजना साथीस“ग पैसा कमाउन नेपाल छिरेका थिए । उनीजस्तै हेटौंडामा कतिजना भारतीय नागरिक थपिए भन्ने कुनै तथ्यांक हेटौंडा उपमहानगरपालिकासँग पनि उपलब्ध छैन । उनी अहिले आफ्नो भिनाजु पर्ने व्यक्तिको नामबाट निकालेको सिमकार्ड प्रयोग गर्छन् । अहिले उनले थानाभर्याङमा एक कोठा भाडामा लिएका छन् । दिनभर त्रिपाल सिलाउने काम पाए गर्छन् । नत्र जुत्ता चप्पल सिलाउँछन् ।
ट्रक, ट्याक्टरमा लगाउने त्रिपाल सिलाउने मुख्य सिजन वर्षात्को समय भएको उनले जानकारी दिए । वर्षात्को सिजनमा काम धेरै हुन्छ । मासिक नेपाली २० हजारसम्म कमाई हुने गरेको रुपेश रामले बताए । ‘सिजन नभएका महिनाहरुमा मासिक १० हजार रुपैयाँ र कहिले त बोनीसम्म पनि हुन्न’, उनले भने । विगतमा नेपालमा आएर काम गर्दा कहिले त भोकै सुतेको दिन पनि उनी सम्झन्छन् । तर आफ्नो परिवारलाई भने उनले कुनै कुराको कमी नगराएको बताए । उनको ३ जना छोराछोरी र श्रीमती रक्सौल घरमै बस्छन् ।
उनले हेटौंडाको राप्तीरोडमा बसेर १३ वर्षसम्म जुत्ता चप्पल सिलाएको बताउँदै पछिमात्र त्रिपाल सिलाउने काम सुरु गरेको जानकारी दिए । आफुले नेपाल आएपछि आपनै भान्जा राजेश रामलाई एकै काम गर्न रक्सौलबाट हेटौंडा उनले ल्याएका छन् । २० वर्षका भान्जालाई उनले सँगै काम सिकाएर हेटौंडामा स्थापित गरेका छन् । नेपालँँग खुला सिमाना भएकाले आफुहरुलाई काम गर्न नेपाल आउजाउ गर्न सजिलो भएको उनको भनाई छ । नेपालमा कमाएर रक्सौलमा आफ्नो पारिवारलाई खुशीसाग राख्न सकेको उनले बताए ।