टिकाराम लामा, अध्यक्ष, मकवानपुर जिल्ला फुटबल संघ

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको मकवानपुर जिल्ला फुटबल संघले झण्डै ५ वर्षपछि जिल्ला लिगको आयोजना गर्दैछ । जिल्ला लिग फुटबल भदौ ७ गतेदेखि आयोजना गर्ने पूर्वतयारी रहे पनि मकवानपुर जिल्ला फुटबल संघले लिग फुटबल भदौ १४ गतेदेखि सुरु गर्ने जनाएको छ । पूर्वनिर्धारित समयभन्दा एक साता ढिलो भएको सन्दर्भ, ५ वर्षपछि हुँदै गरेको लिग र आगामी दिनमा पनि यसको नियमितताको सन्दर्भलाई लिएर एन्फा केन्द्रीय समिति सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामासँग समृद्ध समाजकर्मी शान्त सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः मकवानपुर जिल्ला लिग सुरु हुँदैछ, लिगको तयारी के हुँदैछ ?
लामाः जिल्ला लिगको तयारी लगभग हाम्रो अन्तिम चरणमा आइपुगेको छ । जिल्ला फुटबल संघको कार्यसमिति बैठकबाट प्रतिकूल मौसमको कारणले खेललाई भदौ १४ गते गर्ने निर्णय गरेका छौँ । खेल हेटौँडा–११, थानाभ¥याङस्थित सिमलटार खेलमैदानमा हुनेछ ।

समाजः जिल्ला लिग निर्धारित समयभन्दा एकसाता पछि सर्यो, लिगमा सहभागी क्लबहरुले असन्तृष्टी जनाएका छन् । यसमा तपाइँ के भन्न चाहनुहुन्छ ?
लामाः
क्लबका पदाधिकारीहरुले गुनासो गर्नु स्वभाविक नै हो । प्रतिकूल मौसमलाई मध्यनजर गरेर लिगको मिति एक साता पछाडि सारेका हौँ । लिगको मिति सरेको कारणले खेलाडीहरुमा पर्न गएको असरलाई मूल्यांकन गरेर म जिल्ला फुटबल संघको तर्फबाट माफी माग्न चाहन्छु ।

समाजः लिगमा सहभागी हुने क्लबहरुलाई एन्फाबाट के सहयोग छ ?
लामाः एन्फाले हामीलाई जिल्ला लिगका लागि जम्मा ७ लाख रुपैयाँ मात्र दिन्छ । हामीले पहिले टिमदर्ता शुल्क २ हजार लिने र बल दिने गरेका थियौंँ । अहिले चैं सामान्य क्लबहरुले आर्थिक खर्च गर्न पनि सक्षम भएको छ । विभिन्न निकायहरुबाट सहयोग पनि प्राप्त हुन्छ । एन्फाले खेलाउने लिग जस्तो होइन प्रशिक्षणका लागि ३० देखि ३२ लाख रुपैयाँ दिने होइन समान्य एउटा खर्च दिएको हुन्छ । हाम्रो खर्चको अनुमान लगभग १५ लाख रुपैयाँको छ । उहाँहरुलाई हामीले एउटा टुर्नामेन्ट खेलाउने काम गर्ने हो ।

समाजः एन्फाले लिग–कम–नकआउटको आधारमा खेलाउने तयारी गरिरहेको छ । किन लिगको आधारमा नगरेर लिग–कम–नकआउटको आधारमा सञ्चालन गर्न लागेको ?
लामाः
एन्फा २ किसिमको छ । लिगमा ए डिभिजन बी र सी डिभिजनको सहभागीको कुरा हो । देशको संरचना हेर्दा त्यो अवस्था छैन । २८ वटा क्लबहरुको सहभागितामा प्रतियोगिता सञ्चालन हुँदैछ । जसअन्तर्गत धेरै बजेट खर्च हुने भयो । रेफ्रि व्यवस्थापनमै अत्यधिक बजेट खर्च हुने भयो । धेरै किसिमले हेर्दा क्लबको अवस्था नै नाजुक हुने देखिन्छ । एन्फाबाट दुई वटा संरचनाको निर्माण भएको छ । त्यही कारणले पनि लिग–कम–नकआउटमा आधारित भएर प्रतियोगिता आयोजना गर्न लागेको हो । यसलाई अझै सुधार गरेर हामी कार्यसमितिको बैठकले ए, बी, सी र डी डिभिजन छुट्याइएको छ । वार्षिक तालिका अनुसार छुट्टा छुट्टै तरिकाले प्रतियोगिताको आयोजना लागेका छौं ।

समाजः लिग प्रतियोगिता वर्षेनी गर्नुपर्ने हो । करिब ५ वर्षको अन्तरालमा प्रतियोगिताको आयोजना गरिँदै छ । यो प्रतियोगिताले अर्को वर्ष पनि निरन्तरता पाउँछ ?
लामाः
विगत करिब ४ वर्षको अन्तरालमा लिग नहुनुको कारण करिब २ वर्ष कोभिडले खायो । जसले गर्दा हामीले राष्ट्रिय सहितस्मृति अन्तर्राष्ट्रिय गोल्डकपको पनि आयोजना गर्न सकेनौं । यो भन्दा अगाडि २ वर्ष पहिला हामीले गर्ने प्रयास गरेका थियौं । त्यसपछि बीचमा कोराना आएको कारणले गर्दा फेरी लिग प्रतियोगिताको मिति सरेको हो । त्यसपछि त्यहाँबाट भएन । हामीले प्रणाली बनाइसकेका छौं । अब जिल्ला लिग फुटबल प्रतियोगितालाई हामी निरन्तरता दिनेछौं । अहिले चाहिँ ए र बी बाट क्वालिफाइबाट आउने टिम बनाउने हो की भन्ने सोचेका छौं । एउटै क्लबको ३ देखि ४ लाख रुपैयाँ खर्च हुन्छ । एउटा खेलाडीले सामान्यरुपमा खेल खेलेको ३ हजार रुपैयाँ भन्छ । जर्सी लगायत विभिन्न सामग्री खरिद गर्दा धेरै पैसा खर्च हुन्छ ।