विद्यालयबाट बिदाई हुँदै गर्नुभएका प्रधानाध्यापक निरञ्जनप्रसाद ढकाल ।

हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक निरञ्जनप्रसाद ढकालले ३७ बर्षे शिक्षण पेशाबाट स्वेच्छिक अवकास लिएर विद्यालयबाट बिदाई हुँदै गर्नुहुँदा विद्यालयको छात्रवृत्ति अक्षयकोषमा सहयोग गर्नुभएको छ । प्रधानाध्यापक ढकालले विद्यालयको छात्रवृत्ति अक्षयकोषका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

आइतबार विद्यालयमा आयोजित बिदाई कार्यक्रममा उहाँले विद्यालयको छात्रवृत्ति अक्षयकोषमा सहयोग गर्नुभएको हो । ढकाल २०४४ सालमा निम्न माध्यमिक विद्यालय तहको शिक्षणको रुपमा नियुक्त हुनुभएको थियो । २०६० सालमा माध्यमिक तहको नियुक्ति पाउनुभएका ढकाल २०७२ साल जेठ १ गतेदेखि प्रगति माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । २०८२ साल बैशाख महिनासम्म सेवाअवधि रहे पनि ढकालले कात्तिक ३० गतेदेखि लागु हुने गरी स्वेच्छिक अवकास दिनुभएको हो । ढकाल मकवानपुर जिल्लाकै एक मात्र मावि तह प्रथम श्रेणाीका शिक्षक हुनुहुन्थ्यो ।

प्रधानाध्यापक ढकालसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने र राम विष्टले पनि छात्रवृत्ति अक्षयकोषमा सहयोग गर्नुभएको छ । लामिछाने र ढकालले समान एक लाख एक हजार एक सय एक रुपैयाँ सहयोग गर्नुभएको नवनियुक्त प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो । प्रधानाध्यापक पराजुलीका अनुसार प्रगति माध्यमिक विद्यालयले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा १० लाख रुपैयाँ जम्मा भएको छ । विद्यालयले विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।