हेटौंडाः मकवानपुर जिल्ला तेक्वान्दो संघको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडामा सम्पन्न भएको साधारणसभामा संघका कोषाध्यक्ष रवीन्द्र प्रसाद डंगोलले चालु आर्थिक वर्षसम्म विभिन्न शीर्षकमा करिब २ लाख रुपैयाँको आय–व्यय विवरणको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले मंसीर महिनाको १ गतेसम्ममा १ लाख ५१ हजार रुपैयाँको आय वितरण पेश गर्नुभएको हो ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका अध्यक्ष फूर्वा दोर्जे लामाले हेटौंडा उपमहानगरपालिकामा २ अर्बको बजेट रहेको बताउनुभएको छ । उहाँले खेल क्षेत्रको सन्दर्भमा सबैभन्दा बढी लगानी फुटबल प्रतियोगितामा भएको बताउनुहुँदै यु–१६ फुटबल प्रतियोगिता र यु–१९ लगायतको प्रतियोगिताहरुमा बजेट लगानी गरेको बताउनुभयो । उपमहानगरपालिकाको विभिन्न स्थानहरुको खेलकुद क्षेत्रमा खेलाडीको समानुपातिक हिसाबले मूल्यांकन गरेर बजेट लगानी गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
संघका अध्यक्ष बज्राचार्यले संघ संस्थालाई अगाडि बढाउनका लागि आर्थिक पक्ष बलियो हुनुपर्ने बताउनुभएको छ । प्रत्येक प्रतियोगितामा सहभागी भएका मकवानपुरका खेलाडीहरुले पदक प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्कीले खेलकुदको विकास नगरेमा खेलाडीको विकास गर्न नसकिने बताउनुभएको छ । प्रत्येक खेलका लागि प्रशिक्षकको व्यवस्था गरेर खेलाडीहरुलाई समेट्न आवश्यक रहेको निवर्तमान अध्यक्ष खड्गीले बताउनुभयो । वार्षिक साधारणसभाको कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का बोर्ड निवर्तमान सदस्य माधव तिमल्सिना, राष्ट्रिय खेलकुद विकास परिषद् (राखेप) का सूचना विभाग प्रमुख राजन दहाल खुशराजको पनि उपस्थिति रहेको थियो ।