हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लोकमान श्रेष्ठले आफूहरु जनतालाई सेवा दिन तयार भए पनि सेवाग्राही नै उपस्थित नभएपछि समस्या भएको बताउनुभएको छ । ‘अहिले हामी सार्वजनिक विदामा पनि जनतालाई सेवा दिनुपर्छ भनेर उपस्थित भएका छौं । सबैजना कर्मचारीहरु सेवा दिनका लागि तयार हुनुहुन्छ’, सहायक प्रजिअ श्रेष्ठले भन्नुभयो, ‘सेवाग्राहीको उपस्थिति ज्यादै न्यून छ । उहाँहरु उपस्थित नभएपछि सेवा दिन पाइरहेका छैनौँ ।’
उहाँले सोमबार कार्यालयमा न्यून सेवाग्राही उपस्थित भएको बताउनुभयो । कतिपय सेवाग्राहीले सार्वजनिक विदा भनेपछि सबै कार्यालय बन्द हुने सोचेको हुनसक्ने तथा सरकारले नै राजपत्रमा उल्लेख गरेको अत्यावश्यक सेवाहरु प्रवाह हुन्छ भन्ने कुरा थाहा नहुँदा यस्तो भएको हुनसक्ने उहाँको भनाइ छ । सहायक प्रजिअ श्रेष्ठका अनुसार कार्यालयले नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायतका अत्यावश्यक जनताको सेवाहरु प्रवाह गरिरहेको छ ।
सरकारले राजपत्रमा उल्लेख गरेको सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थामा विदामध्ये रामनवमी, चण्डी पूर्णिमा, उभौली पर्व, रक्षाबन्धन र श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली, ज्यापु दिवस, तमु ल्होसार, सोनाम ल्होसार, शिवरात्रि, ग्याल्बो ल्होसार, इद, गाईजात्रा, गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीलगायतका दिनमा जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गर्नुपर्ने सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार उक्त दिनहरुमा कन्सुलरसम्बन्धी सेवा, भन्सार तथा राजस्वसम्बन्धी सेवा, क्वारेन्टाइनसम्बन्धी सेवा, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता, नवीकरण र प्रदूषण जाँच, वैदेशिक रोजगार सेवा, मालपोत, खानेपानी, सडक तथा सबै प्रकार अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालगायतका सेवाहरु दिने कार्यालयहरुले पनि सेवा दिनुपर्ने व्यवस्था छ । उहाँले उक्त दिनहरुमा पनि उपस्थित भएर सेवाग्राहीलाई सेवा लिन आग्रह गर्नुभएको छ ।