हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा किशोर पराजुली नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० गते बसेको बैठकले मंसिर २ गतेदेखि लागु हुने गरी पराजुलीलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको हो । व्यवस्थापन समितिको निर्णयअनुसार आइतबार पराजुलीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि पराजुली सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो ।
यसअघिका प्रधानाध्यापक निरञ्जनप्रसाद ढकालले स्वेच्छिक अवकास लिनुभएपछि विद्यालय व्यवस्थापन समितिले पराजुलीलाई प्रधानाध्यापक नियुक्त गरेको हो । ढकाल २०७२ साल जेठ १ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्थ्यो । शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह अंग्रेजी विषय शिक्षकको रुपमा २०७१ साल भदौमा हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माविमा नियुक्त हुनुभएका पराजुली २०७२ भदौदेखि प्रगति माध्यमिक विद्यालयमा सरुवा भएर आउनुभएको थियो । पराजुलीले २०७५ साल बैशाक २ गतेबाट सहायक प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको थियो ।
२०५२ सालमा हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका पराजुलीले दश जोड दुई तह र स्नातक तह हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसबाट पूरा गर्नुभएको हो । स्नात्तकोत्तर तहको शिक्षा काठमाडौं, ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसबाट पूरा गर्नुभएका पराजुली अहिले नेपाल खुला विश्वविद्यालयबाट एमफील तहको अध्ययन गरिरहनुभएको छ । हेटौँडा–८, कमाने निवासी किशोर पराजुली प्रधानाध्यापक बन्दै गर्दा तयार पारिएको कार्ययोजनाअनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा काम गर्ने बताउनुहुन्छ । प्रधानाध्यापकसँगै सहायक प्रधानाध्यापकमा ज्योति न्यौपाने र सुदीप पौड्यालले जिम्मेवारी पाउनुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने प्रगति माध्यमिक विद्यालयमा एक हजार दुई सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।