सम्झौतामा हस्ताक्षर गर्नुहुँदै डा. यमबहादुर सिलवाल र प्रा. डा. सचिमोची ।

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र जापानको क्योटो कलेज अफ ग्राजुयट स्टडिज फर इन्फर्मेटिक्स (केसीजीआई) बीच आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । आइतबार मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा क्योटो कलेज र मकवानपुर क्याम्पसबीच सम्झौता भएको हो ।

सन् २००४ मा जापानमै पहिलो पटक स्नातक तहमा कम्प्युटर शिक्षा सुरुवात गर्ने क्योटो कलेज र मकवानपुर क्याम्पसबीच शैक्षिक अध्ययन, अनुसन्धान, तालिम, कार्यशाला, प्राध्यापक तथा विद्यार्थी आदानप्रदान, शैक्षिक गुणस्तर अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको हो । दुबै पक्षले एक पटकमा बढीमा २ जना प्राध्यापक र १० जना विद्यार्थीलाई एक अर्काको क्याम्पस, विश्वविद्यालय भ्रमणको कार्यक्रम सञ्चालन गर्न सक्ने सम्झौतामा उल्लेख छ । दुई क्याम्पस बीचको सम्झौता अवधि ५ बर्षको हुनेछ ।

मकवानपुर बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार मकवानपुर क्याम्पसको संयोजकको रुपमा सहायक क्याम्पस प्रमुख उत्तम अर्याल रहनुभएको छ । यस्तै क्योटो कलेजको तर्फबाट उपाध्यक्ष प्राध्यापक डा. ग्यारी होइची सुचिमोचीले हस्ताक्षर गर्नुभएको छ । क्योटोको तर्फबाट संयोजकमा आनन्द नेपाल रहनुभएको छ । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल र उपाध्यक्ष अशोक शाक्यको पनि उपस्थिति रहेको थियो ।

जापानी कलेजसँगको सम्झौताले मकवानपुर क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राध्यापक, कर्मचारी, विद्यार्थीको क्षमता विकासका लागि पनि महत्वपूर्ण हुने मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मापनमा सुनिश्चितता प्राप्त गरेको मकवानपुर बहुमुखी क्याम्पसले विदेशी क्याम्पस तथा विश्वविद्यालयहरुसँग सम्झौता गर्नुपर्ने आवश्यकतालाई पूरा गर्दै अगाडि बढेको उहाँको भनाइ छ । यसपछि अष्ट्रेलिया, अमेरिका, बेलायतसँगै थप मुलुकका शैक्षिक संस्थासँग पनि साझेदारीको प्रयास हुने डा. सिलवालले जानकारी गराउनुभएको छ ।