म्यान अफ द म्याचको ट्रफी ग्रहण गर्दै मकवानपुरका असीम श्रेष्ठ ।

हेटौँडाः बारा जिल्लाको डुमरवानामा जारी चौथो प्रगतिशील टि–२० क्रिकेट प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ । बारा जिल्लाको डुमरवानास्थित प्रगतिशील युवा क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा मकवानपुरले पर्सा जिल्लालाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको पर्साले १३ ओभरमा ६९ रन बनाएर अलआउट भएको थियो । पर्साका लागि अनुज चौहानले १८ र सफवान अलीले १५ रन बनाउने बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेन । मकवानपुरका लागि असीम श्रेष्ठ र रोहित ठाकुरले ३/३ विकेट लिए । ७० रनको झिनो लक्ष्य पछ्याएको मकवानपुरले ९ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मकवानपुरका असीम श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।

मकवानपुरका ओपनर गौरव खड्का २८ रनमा अविजित रहँदा अर्का ओपनर शुभ कंशाकार २७ रनमा आउट भए । सुमन सुनारको कप्तानीमा मकवानपुर जिल्ला क्रिकेट टिमले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगितामा सहभागी ६ वटा टिमलाई दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रणालीमा खेलाइएको छ । मकवानपुरले अब बिहिबार आयोजक प्रगतिशील युवा क्लबसँग खेल्नेछ ।

समूहको शीर्ष दुई टिमले सोझै फाइनल खेल्नेछ । बाराको डुमरवानास्थित डुमरवाना क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।