फापरबारी (बागमती)ः माघ २७ गते हेटौँडामा सम्पन्न सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको उपाधि जितेको सशस्त्र प्रहरी बलको एपीएफल फुटबल टिम मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती–८ स्थित जनता माविको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतका लागि पर्याप्त भयो । म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै एपीएफले फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँगको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई ५–१ गोलअन्तरले हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ ।
बिहिबार एपीएफ र मच्छिन्द्रबीच उपाधीका लागि भिडन्त हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सवर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।