फागुन, चैतलाई सुख्खा मौसम मानिन्छ । हिउँदमा पानी कम पर्ने र फागुनबाट क्रमशः घाम चर्को लाग्ने भएका कारण गर्मी सुरु हुने हुन्छ । गर्मी सुरु भएसँगै वनजंगलमा रहेका रुख विरुवाका पातहरु झर्न थाल्छन् । झरेका पातहरु चर्को घामका कारण चाँडै सुक्छन् । यही समयमा हुरीबतास पनि चल्ने गर्छ । सुख्खा र गर्मी मौसम, वन क्षेत्रमा सुकेका पातहरु हुने र हुरिबतास पनि चल्ने ग र्दा डढेलो र आगलागीको जोखिम बढी हुने गर्दछ । वनजंगलमा डढेलो लाग्ने र आगलागी हुने समस्या निकै चुनौतीपूर्ण बन्ने गरेको छ । जाडो मौसमको अन्त्यसँगै सुरु हुने गर्मी र त्यस समयमा चल्ने हुरीबतासका कारण आगलागीको सम्भावना बढी हुने गर्दछ । साथै, वन क्षेत्रमा डढेलो लाग्ने र लगाउने प्रक्रिया पनि यस समयमा देशैभर हुन्छन् । यसको असर हेटौंडा र मकवानपुर जिल्लामा पनि देखिने गरेको छ । वरपर वनजंगल प्रशस्त भएका कारण हेटौंडामा वर्षेनि डढेलोको समस्या बढ्दै गएको छ ।

फागुन दोस्रो साता सुरु भएसँगै हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरका विभिन्न क्षेत्रमा आगलागीका घटना बढ्न थालेको छ भने डढेलो लाग्न क्रम पनि सुरु भएको छ । गत साता हेटौंडा–१८, हर्नामाडी र कैलाश गाउँपालिकामा घरमा लागलागी भएको थियो । गत आइतबार भीमफेदी गाउँपालिकाको भैंसेनजिक खोला किनारको काँसघारीमा डढेलो लागेको थियो । हेटौंडाको पिप्ले–पोखरा सामुदायिक वन क्षेत्रमा पनि डढेलो लागेको थियो । गर्मीको सुरुवातको समयमा तराई, पहाड सबैतिरका राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्ने र लगाउने क्रम व्यापक बनिरहेको छ । यसले वन क्षेत्र वरपरका बस्तीमा आगलागीको सम्भावना बढ्नेमात्र होइन, वनमा रहेका विरुवा तथा जीवजन्तु मर्ने र वातावरणमा नकारात्मक प्रभाव पार्ने गर्दछ । आगलागी र डढेलो न्यूनीकरणका लागि विभिन्न सतर्कता अपनाउन सकिए पनि आगो नियन्त्रणमा लिन सर्वत्र प्रचलित र उपयोगी उपाय दमकल (वारुणयन्त्र)को प्रयोगलाई मानिँदै आएको छ ।

मकवानपुर जिल्लामा हुने आगलागी तथा डढेलो नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाको दमकल प्रयोग हुँदै आएको छ । विगतदेखि दमकल सेवा सञ्चालन गर्दै आएको उपमहानगरसँग अहिले ३ वटा दमकल रहेको भए पनि एउटा बिग्रिएका कारण २ वटा दमकलले मात्र सेवा दिँदै आएको छ । मकवानपुरको थाहा नगरपालिकामा पनि एउटा दमकलले सेवा दिँदै आएको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार ५० हजार जनसंख्या बराबर एउटा दमकल आवश्यक पर्छ । हेटौंडा उपमहानगरपालिकाको जनसंख्याको अनुपातमा कम्तिमा ४ वटा दमकल आवश्यक देखिन्छ । मकवानपुर जिल्लाको जनसंख्या आधारमा १० वटा दमकल आवश्यक पर्ने भए पनि जिल्लाका ८ वटा गाउँपालिकामा दमकलको व्यवस्था छैन । अहिले जिल्लामा हेटौंडाको २ वटा र थाहाको एउटा गरी ३ वटा दमकलले मात्र सेवा दिइरहेका कारण आगलागी तथा डढेलो नियन्त्रणमा समस्या पर्ने गरेको छ ।

गर्मी र सुखा मौसमसँगै चल्ने हावाहुरीबाट सल्कने डढेलो र आगलागीको जोखिम उच्च रहेको हुँदा आगलागी नियन्त्रणका लागि दमकलको आवश्यकता बढ्दै गएको छ । हेटौंडामा जनघनत्व बढ्दै गएको र थुप्रै उद्योगहरु भएका कारण अत्याधुनिक र पर्याप्त दमकल आवश्यक छ । विद्युतीय उपकरणका र खाना पकाउने ग्यासको बढ्दो र लापरबाहीरुपमा हुने प्रयोगले घरायसी आगलागीका घटना बढ्दै गइरहेका छन् । मानवीय असावधानी र लापरबाहीबाट वनजंगलमा डढेलो लाग्ने गरेका छन् । आवश्यक सचेतना अपनाएर आगलागी र डढेलो न्यूनीकरण गर्न सकिने भए पनि आगलागी भइहालेमा त्यसलाई नियन्त्रण गर्न दमकल आवश्यक हुन्छ । नेपालमा ठूला शहरमा मात्र सिमित संख्यामा दकमलको सेवा उपलब्ध छ । भौगोलिक रुपमा उपयुक्त सबै स्थानीय तह र ठूला गाउँबस्तीमा दकमलको व्यवस्था हुने हो भने आगलागी र डढेलोबाट हुने क्षति कम गर्न सकिन्छ ।