विद्यालय तथा क्याम्पस तहमा नेपाली भाषा शिक्षण गर्दै आएका शिक्षकहरुको समूहले नेपाली भाषाको उन्नयनका लागि नेपाली भाषा शिक्षक समिति गठन गरेको छ । २०५८ सालमा स्थापना भएको समितिले नेपाली भाषाका विषयमा विविध कार्य गर्दै आएको छ । दुई दशकदेखि नेपाली भाषाको उन्नयनका लागि क्रियाशील समितिको गत शनिबार सम्पन्न अधिवेशनबाट केशव प्रसाद सञ्जेलको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष केशव प्रसाद सञ्जेलसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः
नेपाली भाषा शिक्षक समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कस्तो अनुभव गरिरहनु भएको छ ?
सञ्जेलः गत शनिबार सम्पन्न भएको नेपाली भाषा शिक्षक समितिको चौथो अधिवेशनबाट मेरो नेतृत्वमा २१ सदस्य कार्यसमिति गठन भएको छ । जसमा उमेर र अनुभवको आधारमा अन्य सदस्यहरु मेरो तुलनामा दोस्रो पुस्ताका साथीहरु हुनुहुन्छ । तापनि उहाँहरुले प्राप्त गर्नुभएको शैक्षिक योग्यता, प्राविधिक सीप, क्षमता, खुबी र उहाँहरुमा भएको युवा उर्जाको उपयोग गर्दै मैले यो भाषा शिक्षक समितिको नेतृत्व गरेर यस संगठनको पहिचान मकवानपुर जिल्लामा राम्रो बनाउन सक्छु भन्ने विश्वास लिएको छु ।
नेपाली भाषा समितिलाई कसरी अगाडि बढाउनुहुन्छ ?
सञ्जेलः नेपाली भाषा समिति २०५८ सालमा स्थापना भई मकवानपुर जिल्लामा निरन्तर क्रियाशील भएको संगठन हो । विगतमा यसले नेपाली शिक्षकहरुलाई पाठ्यक्रम तथा प्रश्नपत्र तयार सम्बन्धी तालिम दिने, कविताहरुको क्यासेट बनाउने, भाषिक र साहित्यिक सेवीहरुलाई पुरस्कृत गर्ने लगायतका सराहनीय कामहरु गर्दै आएको थियो । तर पछिल्लो समय विभिन्न व्यस्तता तथा कोरोना कहरका कारणले यो कार्यमा सुस्त भइरहेको थियो । त्यसकारण अब यस संस्थालाई पुनः सक्रिय र क्रियाशील बनाउन हामी लाग्नेछौं ।
अग्रज पुस्ता र पछिल्लो पुस्तालाई कसरी समायोजन गर्दै लाने विचार गर्नुभएको छ ?
सञ्जेलः निश्चितरुपमा दुई पुस्ता भएपनि धेरैजसो चिरपरिचित र मैले आफैले शिक्षण, प्रशिक्षण गरेका साथीहरु नै रहनुभएकोले समायोजन गर्न त्यति असजिलो हुँदैन जस्तो मलाई लाग्छ । उहाहरुकै उत्साह, चाहना र सहमतिले नै मलाई नेतृत्वको भूमिका दिनुभएकाले पनि समायोजन गरेर लान त्यस्तो अप्ठ्याराहरु आउँदैनन् जस्तो लाग्छ ।
नेपाली भाषाका शिक्षकहरुलाई कस्ता समस्या तथा अप्ठ्याराहरु आउँछन् ?
सञ्जेलः भाषा आफैंमा परिवर्तनशील अवधारणा हो । त्यसले गर्दा भाषामा परिवर्तन हुने तीव्रता र शिथिलताले समस्याहरु सिर्जना गर्छ । पाठ्यक्रममा भएको परिवर्तन, भाषा शुद्धीकरण, वर्णविन्यासका नियमहरुमा एकरुपता नहुनु र विभिन्न क्षेत्रबाट भाषामा भएको स्वीकार्य तथा अस्वीकार्य परिवर्तनको हस्तक्षेप जस्ता समस्याहरु नेपाली भाषामा देखापरेको छ । त्यस्तै भाषिक उत्थानको निमित्त नेपाली भाषामाथि अन्य भाषाको प्रभाव, अंग्रेजीको दबदबा, अभिभावक, समाज र विद्यार्थीमा भएको अंग्रेजी मोह बढ्दै जानु, निजी विद्यालयहरुको होडबाजी जस्ता समस्याहरु प्रशस्तै रहेको पाइन्छ ।
अंग्रेजी माध्यमको दबदबाले नेपाली भाषामा कत्तिको नकारात्मक प्रभाव पार्छ ?
सञ्जेलः नेपालीहरुमा भएको अंग्रेजी भाषा प्रतिको मोह र युरोपियन अमेरिकन संस्कृतिप्रतिको रुचिले नेपाली भाषा उत्थानका लागि एकदम ठूलो नकारात्मक प्रभाव पार्छ । राज्यले व्यवस्था गरेको भाषा नीति तथा नेतृत्व तहमा अगुवाहरुले भाषाहरुप्रति देखाउने व्यवहार र नीतिहरुका कारणले भाषामा समस्याहरु सिर्जना हुँदै गएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले पनि नेपाली विषयलाई अपहेलनाको दृष्टिले हेरेको हो ?
सञ्जेलः विद्यालयका प्रधानाध्यापकहरुले मात्र नभएर नीति, नियम बनाउने व्यक्तिहरु, निकायहरु, संस्थाहरुमा नै विकृत्ति र विचलन रहेको छ । र नेपाली भाषालाई हेर्ने दृष्टिकोण हेयपूर्ण रहेको छ । हाम्रो पाठ्यक्रममा विषयवस्तुहरु ऐन, नियममा राख्दा चाहिँ नेपालीलाई पहिलो विषयलाई राखेको छ । तर विद्यालयमा शिक्षकहरुको विज्ञापन गर्दा वा नियुक्ति गर्दा चाहिँ शिक्षा ऐन, नियमको उल्लङ्घन गर्दै नेपाली विषयलाई भन्दा बढी प्राथमिकता अंग्रेजीलाई दिएको पाइन्छ । नेपाली विषय अरु विषय शिक्षकले पढाए पनि हुने मान्यता राख्ने र नेपाली विषय शिक्षकहरुको मर्यादाको कुरालाई पनि अन्यको तुलनामा समाज तथा ती निकाय र संस्थाहरुले हेर्ने गरिन्छ ।
नेपाली भाषाका शिक्षकहरुको समस्यालाई कसरी सुनुवाई गर्दै आउनुभएको छ ?
सञ्जेलः निरन्तर रुपमा सिक्ने र सिकाउने शिक्षकको पेसा नै हो । हामीले विगतका भेलाहरुमा पनि शिक्षक साथीहरुको समस्या सुन्दै र समाधान गर्दै अगाडि बढिरहेका छौं । त्यस्तै हामीले शिक्षकहरुलाई विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरु दिँदै सहजीकरण गर्दै पनि आएका छौं । अगामी दिनमा पनि हामी यसैगरी सहकार्य गरी सबैको समस्या समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्न चाहान्छौं ।