हेटौंडाः औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकपक्षीयरुपमा देशभरका औद्योगिक क्षेत्रको भाडादर वृद्धि गरेको भन्दै उद्योग संघ मकवानपुरले विरोध जनाएको छ । कोभिड–१९ ले निम्त्याएको विषम् परिस्थितिले थला परेका उद्योगहरु तंग्रिन खोजिरहे पनि उद्योग, कलकारखानाहरु तरलता अभाव र अत्याधिक महंगीले धरासायी हुने स्थितिमा पुगेको उल्लेख गर्दै उद्योग संघ मकवानपुरले भाडावृद्धि आवश्यक नभएको तथ्यांकसहित सुझाव पेश गरेको छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रष्ट रुपमा स्वदेशी उद्योग प्रवर्धन गर्ने तथा आयात प्रतिस्थापन गरी निर्यात बढाउने भने पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने उद्योग, कलकारखानालाई निरुत्साहित गर्ने काम गरिरहेको उद्योग संघ मकवानपुरको भनाइ छ । बुधबार उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेलले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै २०७५ सालमै भाडा वृद्धि गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयको प्रयास विफल भएको जनाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका १० वटा औद्योगिक क्षेत्रको भाडादरमा ९८ दशमलव ५२ प्रतिशतदेखि ६ सय ८७ दशमलव ७९ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रको भाडादर १ सय ३६ दशमलव ३४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको छ ।

औद्योगिक क्षेत्रको भाडावृद्धिको विरोध गर्दै उद्योग संघ मकवानपुरले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयको कमजोरी पनि औँल्याएको छ । भाडा वृद्धिदरको स्पष्ट र वैज्ञानिक आधार नभएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले २ बर्षमा सार्वजनिक गर्ने महंगीको दरका आधारमा भाडावृद्धि गर्न सुझाव दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नाफामै सञ्चालन भइरहेकोले पनि भाडादर वृद्धि गर्नुको औचित्य नभएको उद्योग संघ मकवानपुरको जीकिर छ । जग्गा भाडासम्बन्धी सम्झौता गरेको २ बर्षभित्र उद्योग सञ्चालन हुनुपर्ने प्रावधान भए पनि ५ बर्षसम्म सञ्चालनमा नआएका उद्योगलाई कारवाही गरेर नयाँ उद्योगलाई जग्गा भाडामा दिएर आम्दानी बढाउनेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ध्यान जान नसकेको उद्योग संघको ठहर छ ।

सम्झौता गरेर पनि उद्योग सञ्चालन नभएको १० वटा प्लटको १ सय ६६ रोपनी जमिन फिर्ता लिई सञ्चालनमा आउने नयाँ उद्योगलाई जग्गा भाडामा दिन उद्योग संघले सुझाव दिएको छ । यस्तै हेटौंडा–१४ मा स्थापना हुने भनिएको मयुरधाप औद्योगिक क्षेत्रको निर्माण कार्य पूरा गरी नयाँ उद्योग स्थापना गर्दा हुने ठूलो आम्दानीको अवसरलाई पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ध्यान नपुगेको उद्योग संघ मकवानपुरले जनाएको छ । मयुरधाप औद्योगिक क्षेत्र निर्माण भई उद्योग स्थापना भएको भए बार्षिक झण्डै सात करोड रुपैयाँ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आम्दानी गर्ने अवसर रहने उल्लेख गर्दै झण्डै ४ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने, राज्यले बार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको राजश्व आम्दानी गर्ने अवसर रहने संघको दावी छ ।