आत्म+हत्या मिलेर आत्महत्या बनेको हो । आत्मको अर्थ स्वयम् अर्थात् आफैं र हत्याको अर्थ खत्तम अर्थात् समाप्त हो । जानीबुझी गरिने आत्मघात अथवा आफ्नो हत्या आफैंबाट गर्नु नै आत्महत्या हो । छोटकरीमा भन्नुपर्दा आफैं समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ । जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्छ । आत्महत्याका अनेकौं कारणहरु हुन्छन् । धेरै दिक्दारी लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता उदासिनताले आत्महत्यालाई बढावा दिने गर्दछ । यस्तै, बढी मद्यपान तथा लागूऔषध सेवन गर्नु, दीर्घरोगबाट ग्रस्त हुनु, जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्या आउनु, वैवाहिक जीवन सफल नहुनु, लामो सयम बेरोजगार हुनु, विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु पनि आत्महत्याका कारण हुन् ।
संसारमा वर्षेनि ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक छ । हरेक ३ सेकेन्डमा १ जनाले आत्महत्या प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ । नेपालमा प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६७/०६८ मा ३ हजार ९ सय १८ ले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७२/०७३ मा ४ हजार ६ सय ९५ आत्महत्याका मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७४/०७५ आ आइपुग्दा आत्महत्या गर्नेको संख्या बढेर ५ हजार ७ सय ८५ पुगेको प्रहरी तथ्यांकले देखाउँछ । यो तथ्यांकअनुसार नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । आत्महत्यासम्बन्धी पछिल्लो तथ्यांक नपाइए पनि वर्षेनि आत्महत्याको क्रम बढ्दै गएको तथ्यलाई नकार्न सकिँदैन ।
मकवानपुर जिल्लामा मात्रै गत आर्थिक वर्षमा एक सय २५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ९० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । सात जना बालिका, चार जना बालक, ५४ जना पुरुष र २५ जना महिलाले झुन्डिएर आत्महत्या गरेको पाइएको छ । विष सेवन गरेर १८ जना पुरुष, १२ जना महिला र एक–एक जना बालक र बालिकाले आत्महत्या गरेको तथ्याङ्क छ । यस्तै, पानीमा हाम फालेर एक–एक जना पुरुष र महिला एवम् आगो लगाएर एक जना पुरुषले आत्महत्या गरेका छन् । लागूऔषध दुव्र्यसनमा फसेका मानिसहरु, गरिबी, बेरोजगारी, घरेलु हिंसामा पीडित भएकाहरु आत्महत्या गर्न अग्रसर हुनसक्ने प्रहरीको भनाई छ ।
विविध कारणले हुने आत्महत्या चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या कमजोर मन भएकाहरूले चाल्ने कदम भएकाले यसको राकथामका लागि सम्भावित व्यक्तिलाई सचेतना, हौसला र प्रेरणाको आवश्यकता पर्दछ । हाम्रो जस्तो कम तथा मध्यम आय भएका देशहरूमा आत्महत्याको समस्या बढी देखिने गरेको छ । बढ्दो आत्महत्याको क्रमलाई रोकथामका लागि व्यापक बहस र आवश्यक न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । घर–परिवार, गाउँ–समाजमा आत्महत्याबारे खुलेर कुराकानी गर्नु आवश्यक छ । जोकोही मानिसमा जीवनको कुनै मोडमा आत्महत्याको सोच आउन सक्छ । तर, हरेक मानिसले आफूमा आउने आत्महत्याको सोचलाई एउटा दानवीय सोच हो भनेर बुझ्नु आवश्यक छ । हाम्रो अमूल्य जीवन आत्महत्याको लागि होइन भन्ने तथ्यलाई कहिल्यै भुल्नु हुँदैन । हरेक व्यक्तिले जस्तोसुकै कठिनाई पनि सामना गर्नसक्छु भन्ने आत्मविश्वास जागृत गराएर आत्महत्याको नकारात्मक सोचलाई हटाउन सकिन्छ ।
बार ।