हेटौंडाः पुँजीवादी युगका कारण विकट क्षेत्रका महिलालाई कविता बुझाउन नसकिएको बताइएको छ । आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको वृहत् साहित्य महोत्सवमा साहित्यका बारेमा बहस गर्दै साहित्यकार भूषिता वशिष्ठले यस्तो बताउनुभएको हो ।

गाउँघरमा विवाहमा रत्यौली खेलिन्छ, विभिन्न लोकगीत तथा संस्कृतिमा रम्ने गरिए पनि कविताबारे जानकारी नभएको वशिष्ठले दावी गर्नुभयो । लोक साहित्यलाई नै बजारीकरण गर्दै गएपछि समकालीन कविताको मार्गचित्र धरापमा रहेको बहसकर्ता वशिष्ठले उल्लेख गर्नुभयो ।

बजारमा बिक्रीका लागि राखिएका कविका कविता गाउँगाउँमा पढ्न दिने हो भने सबैले पढ्ने उहाँको भनाइ छ । अहिलेको २१ औं शताब्दीमा पनि शिक्षालाई सहजरुपमा लिन सक्ने वातावरण बनाउन नसकेको अवस्थामा कला र साहित्य पनि पुँजीवादी बन्दै गएको उहाँले बताउनुभयो । साहित्यलाई बुझाउन नसकेकै कारण लोकगीत, कला र संगीत हावी बन्दै गएको उहाँले दावी गर्नुभयो । डुब्नु, पोखिनु, पग्लनु र स्वाद चाख्नुमाथि जसले चिन्तन गर्छ र शब्दमा उतार्छ वस्तवमा कविका कविता हुने बशिष्टले बताउनुभयो । सर्वकालीन दर्शाइएको र आफ्नोपन सिर्जना भएको कविता नै प्रख्यात हुने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी बहसकर्ता चन्द्र गुरुङले कविले लेखेका कविताबारे साधारण व्यक्तिले समेत औंल्याउन सक्नुपर्ने बताउनुभयो । सरकारले कला तथा साहित्यका क्षेत्रमा मात्र फेलोसिप तथा विभिन्न उद्योगले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । सौन्दर्य अमूर्त रहेको र विकल्पको बाटो खोज्नुपर्ने र सानासाना विम्बमा अझिल्न नहुने उहाँको भनाइ छ ।

बहसकर्ता नेत्र एटमले राजनीतिबाट कविता प्रेरित रहेको बताउनुहुँदै सत्ताको विचारधारामा कविता लेख्ने गरिएको बताउनुभयो । एउटा क्षमतावान तथा प्रतिभावान कवि चिन्न कठिन परिस्थिति सिर्जना भएको उहाँको भनाइ छ । स्वतन्त्रता, हिंसा, अन्यायविरुद्व कविता लेखिन्छ, तर सत्ताका कारण त्यस सिर्जना बाहिर आउन नसकेको उहाँले बताउनुभयो ।

नेपाली कविता सन्तोषजनक नभएको अवस्थामा समकालीन कविताको मार्गचित्रका विषयमा कवि निमेष निखिलले सहजीकरण गर्नुभएको थियो । आँचल साहित्य कलापुञ्च मकवानपुरले शुक्रबारबाट सुरु गरेको द्विदिवसीय वृहत् साहित्य महोत्सवमा गरिएको बहसले साहित्यमा राजनीति जोडिएको दावी गरेको छ ।

शुक्रबार पत्रकार यादव बेल्बासेले सहजीकरण गरेको साहित्यमा राजनीति विषयक बहसमा बहसकर्ताहरुले हरेक तह र तप्कामा राजनीति हुने दावी गरेका छन् । कला र साहित्यमा महिलाको उपस्थिति तथा नेतृत्वका विषयले कतिको जटिल छ भन्ने विषय यकिन गरेको बताइएको छ । महिलाको सिर्जनामा समीक्षा नै नगर्ने स्थिति रहेको भन्दै सिर्जनामा डुब्न सकियो भने सही बाटोमा कवि स्वयम् हिँड्न सकिने साहित्यकारहरुको मत थियो ।

हेटौंडामा साइकल संरचनाको सम्भावना, कला क्षेत्र रहेको गुम्बाडाँडाको अवलोकन तथा मकवानपुरको साहित्यिक महक र कविता वाचन गरेर शनिबार द्विदिवसीय वृहत् साहित्यिक महोत्सव सम्पन्न भएको छ । मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग, व्यापार र समग्र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव भएको हो ।

महोत्सवमा कवि अनिल कोइरालाले नशा शीर्षकमा कविता वाचन गर्नुभयो भने अस्मिता पौडेलले प्रेमको ईन्द्रेणी शीर्षकमा कविता वाचन गर्नुभयो । रामकुमार एलनले कवि छ कविता छैन र मीनप्रसाद लामिछानेले आउ एउटा कुरा सहमति गरौंलगायत कविहरुले विभिन्न शीर्षकमा कविता वाचन गर्नुभएको थियो ।