शनिबार बिहान कर्रा खोला सरसफाई गर्दै ।

हेटौंडाः हेटौंडाको कर्रा खोला सरसफाई अभियानको दोस्रो साता शनिबार बिहान सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत वातावरण शाखाको सक्रियतामा गत सातादेखि सरसफाई अभियान सुरु गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी र १० नम्बर वडा अध्यक्ष कितापसिं लामासहित प्रमुख प्रशासकीय अधिकृत शिव राज चौलागाईको समेत उपस्थितिमा सामाजिक विकास महाशाखाका अधिकारीहरु, वातावरण शाखाका अधिकारीहरु, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय टोल विकास संस्थाका पदाधिकारीको सहभागितामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्रा पुलदेखि पश्चिमतर्फ करिब ५ सय मिटर क्षेत्रको खोला सरसफाई गरिएको छ ।

खोलामा रहेका जलकुम्भी, प्लास्टिकजन्य फोहर संकलन गरिएको छ । सरसफाईका क्रममा विशेषगरी कर्राखोला छेउमै रहेको पशुपधशालाको फोहर, कर्रा खोला नजिकैको शवदाहस्थलमा जथाभावी लत्ताकपडा तथा प्लास्टिकजन्य फोहर व्यवस्थापन गर्नु आवश्यक देखिएको हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।

कर्रा खोलाको सरसफाईसँगै हेटौंडा उपमहानगरपालिकाले फोहर नगर्न आग्रहसहितको होर्डिङ बोर्ड राख्ने उहाँले बताउनुभयो । यस्तै उपमहानगरपालिकाले स्थानीयसँग समन्वय गरेर शवदाहस्थललाई सफा बनाइराख्ने तथा पशुवधशालाको फोहोरलाई व्यवस्थित गर्न व्यवसायीलाई वडामार्फत जानकारी गराउने लामिछानेले जानकारी दिनुभएको छ । गत साता कर्रा पुलदेखि पूर्वतर्फ करिब ५ सय मिटर क्षेत्रफल सरसफाई गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाले हरेक साता नगरक्षेत्रका खोला तथा नदि क्षेत्रको सरसफाई अभियानकै रुपमा सञ्चालन गर्ने योजना बनाएको महाशाखा प्रमुख लामिछानेले जानकारी दिनुभएको छ ।