विकासको इतिहास लामो समयदेखि हेटौंडामा अलपत्र छ । दक्षिण एसियाकै पहिलो सुरुङको इतिहास हेटौंडामा अलपत्र रहँदासमेत कसैले संरक्षणको चासो नै दिएनन् । यसको संरक्षण गर्ने र प्रचारप्रसार गर्नेतर्फ स्थानीय प्रशासनदेखि सरकारको समेत ध्यान नपुगेको हो । सुरुङ छ भन्ने थाहा नपाएको हैन, तर यसलाई व्यवस्थित गर्नुपर्नेतर्फ कसैको पनि आजसम्म ध्यान नगएकै हो । ऐतिहासिक सम्पदाको उचित संरक्षण नभए लोप हुनु स्वभाविक कुरा हो । इतिहास संरक्षण गर्दै आधुनिक विकासको बाटो पहिल्याउन सकिन्छ । इतिहास आगामी पुस्ताका लागि मार्गदर्शक पनि हो । त्यसैले विकासको पुरानो शैलीबाट नयाँ पद्दति अवलम्बन गर्न सहयोग पुग्दछ । तर सुरुङको अभ्यास गरेको नेपालमा एक सय वर्षपछि पनि गति लिन सकेको छैन ।
दक्षिण एसियाकै सुरुङको इतिहास लिएर बसेको चुरिया सुरुङको संरक्षणका लागि बल्ल प्रदेश सरकारले चासो देखाएको छ । हिजो किन सम्झिएन भनेर प्रश्न गर्नुभन्दा पनि अब के गर्न सकिन्छ भन्ने सोचबाट काम हुनुपर्दछ । जे भए पनि चुरियामाई सुरुङको संरक्षणको काम सुरु भएको छ । प्रदेश सरकारले यसका लागि टेन्डर प्रक्रिया पूरा गरी निर्माणको सम्झौतासमेत गरेको छ । निर्माणका लागि सम्झौता गर्नुमात्र ठूलो कुरा हैन । यसलाई समयमा पूरा गराउने गरी अनुगमन आवश्यक हुन्छ । यस्तै सुरुङको ऐतिहासिकतालाई भत्काउने भन्दा परम्परागत आकृतिलाई संरक्षण गर्ने गरी काम हुनु आवश्यक छ । चुरियामाई सुरुङमार्गको पुनर्निर्माण गरी पर्यटकीयस्थल र अध्ययन केन्द्रको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना पूरा हुने गरी पुनर्निर्माण भन्दा पनि संरक्षण आवश्यक छ ।
एक सय वर्ष पहिला नै नेपाल सुरुङमार्ग प्रयोग गर्ने दक्षिण एसियामा पहिलो देश हो नेपाल । तर सय वर्ष पहिला गरेको विकासको शैली आजसम्म किन प्रयोगमा ल्याएर अन्य आयोजनाहरु बन्न सकेनन् ? के डिल्लीजंगजस्ता अरु इन्जिनियर नै नभएका हुन् वा चन्द्र शम्शेर जति पनि विकासमा नयाँ दृष्टिकोण भएको नेतृत्वको खाँचो हो ? विकासको आधुनिक शैलीको प्रयोग गर्ने देश आज किन सबैभन्दा पछाडि परिरहेको छ भन्ने कोणबाट विश्लेषण आवश्यक छ । पुरानो सुरुङ संरक्षण मात्र गर्नु ठूलो विषय हैन, अब यो प्रविधिको प्रयोग कहाँ र कसरी गर्दा विकासले फड्को मार्न सक्छ भन्नेतर्फ चिन्तन गरिनु पर्दछ ।
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको सुरुङ नयाँ योजना निर्माण गर्नका लागि सन्दर्भ सामग्री बन्न सक्नेछ । सुरुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले ठेक्का लगाइसकेको छ । सुरुङका डिजाइन गर्ने इन्जिनियर डिल्लीजंग थापाको प्रतिमा हेटौंडा उपमहानगरपालिकाले निर्माण गरिसकेको छ । सन् १९१७ मा चन्द्र शम्शेरको पालामा बनेको सुरुङलाई सम्पदाका रुपमा संरक्षण हुन आवश्यक छ । नेपाली सम्पदाको विषयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई चुरियामाई सुरुङ अध्ययनको विषय हो । इन्जिनियरिङ तथा टनेलसम्बन्धी अध्ययनका लागि समेत यो सुरुङ अध्ययनको मुख्य केन्द्र बन्न सक्नेगरी संरक्षण गर्नसके यसको उपयोगिता र महत्व अझै बढ्नेछ ।