हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितहरुको संख्या कम नभएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस संक्रमितको संख्या केही कमी भए पनि संक्रमण दर कम नभएकाले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।
लामो समयदेखि जारी निषेधाज्ञाले व्यापार, व्यवसायदेखि विभिन्न सरकारी तथा गैरसरकारी सेवा लिन समस्या पर्दै गएपछि निषेधाज्ञा क्रमशः खुकुलो पारिँदै लगिएको छ । निषेधाज्ञा खुकुलो गरिँदै गएपछि बजार तथा यातायात र सरकारी कार्यालयहरुमा भिड बढेको छ । भिडभाड नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर प्रयोग गर्न जति नै सचेत गरिए पनि त्यसको पूर्ण पालना हुन सकेको छैन ।
कोरोना भाइरस संक्रमण उल्लेख्यरुपमा कम हुन नसकेको र विज्ञहरुले तेस्रो लहरको संक्रमणको चेतावनी दिइरहँदा पनि मानिसहरु आफ्ना दैनिकीलाई निरन्तरता दिइरहेका छन् । बजारमा मात्र नभई गाउँगाउँमा संक्रमण फैलँदै गएकाले मकवानपुर जिल्लामा कोभिडको स्वरुप भयावह हुने सम्भावना देखिएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकअनुसार शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८० पुगेको छ । ५ सयबाट कम भइसकेको सक्रिय संक्रमितको संख्या एक हजारको नजिक पुग्नु खतरापूर्ण देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ । धेरै मानिस एकैठाउँमा बसोबास गर्ने कारागार तथा बाल गृहमा कोभिड संक्रमण फैलिएको पाइएपछि भिडभाड हुने क्षेत्रमा थप सतर्कता अपनाउनु आवश्यक बनेको छ ।
सार्वजनिक यातायात, व्यापार–व्यवसाय र कार्यालहरु खुलेसँगै आम नागरिकको दैनिकी सामान्य बन्दै गएकाले निषेधाज्ञा नाममात्रको देखिएको छ । बैंकिङ्ग क्षेत्र, व्यावसायिक क्षेत्र, सरकारी कार्यालय, सार्वजनिक स्थललगायतमा मानिसको भिड बढिरहेको छ । निषेधाज्ञाकै समयमा पनि जग्गा पासदेखि जग्गासम्बन्धी विभिन्न काम गर्न दैनिक सयौं सेवाग्राही मालपोत कार्यालय धाउने गरेका छन् ।
अहिलेको विषम परिस्थितिमा पनि मालपोत कार्यालयमा सेवाग्राही भिड दिनदिनै बढ्दै जानुले संक्रमणको जोखिम बढाएको छ । सरकारी कार्यालयदेखि सार्वजनिक स्थालमा समेत भिड बढ्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले पुनः निषेधाज्ञा थपिँदै जान सक्ने भएकाले स्वास्थ्य सुरुक्षा मापदण्डको पालनामा विज्ञहरुको जोड रहेको छ ।
संक्रमण दर घट्न नपाउँदै अहिले विद्यालय तथा क्याम्पस तहका विद्यार्थीहरुको परीक्षा सञ्चालन गरिएको छ । कक्षा ११ तथा स्नातक तह प्रथम वर्षको परीक्षा चलिरहेको छ भने कतिपय शैक्षिक संस्थाहरुले प्रयोगात्मक परीक्षासमेत चलाइरहेका छन् । यस्तै, साउन ३१ गतेबाट कक्षा १२ को एसएलसी परीक्षा सञ्चालन गरिँदैछ । विद्यार्थीहरुको भौतिक उपस्थितिमै भइरहेका र हुने परीक्षाले पनि संक्रमणको जाखिम बढेको विज्ञहरुको भनाई छ ।
हेटौंडा नगर क्षेत्रकै केही विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन सुरु गरेपछि हेटौंडा उपमहानगरपालिकाले सूचना जारी गर्दै रोक लगाएको छ । यस्तै, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले पनि विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा कुनै पनि प्रकारको पठनपाठन नगर्न जिल्लाका विद्यालयहरुलाई सचेत बनाएको छ । विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइँदा भौतिक दुरी कायम गराउन सम्भव नहुने र विद्यार्थीले स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालना नगर्ने कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले विद्यालय भने बन्द रहेका छन् ।
कोरोना संक्रमणकै अवस्थामा विभिन्न राजनीतिक दलहरुको विरोध प्रदर्शनदेखि सेमिनार, गोष्ठी, तालिम भइरहँदा सीमित क्षेत्रमा मात्र कोरोना लाग्ने हो र ? भन्ने प्रश्नसमेत उठ्ने गरेका छन् । यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक रहेको सर्वसाधारण बताउँछन् ।
एकातिर कोरोना संक्रमण बढ्दो छ भने अर्कातिर मानिसहरुको भिडभाड पनि बढ्दो छ । भिडभाड हुने स्थलमा कडाई गरी भौतिक दुरी कायम गरिनु आवश्यक छ । फेरि कोरोना संक्रमण बढ्दै गएर निषेधाज्ञामा कडाइ गरिएमा आम मानिसको दैनिक जीवनयापनमा असहता हुनेछ । कोरोना भाइरस संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालनामा आम सर्वसाधारण आफैं सचेत र जिम्मेवार बन्नुको विकल्प देखिँदैन ।