फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले शिक्षासम्बन्धी बजेट तथा कार्यक्रमलाई बालबालिकालक्षित बनाएको छ । उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिने अधिकांश कार्यक्रमलाई बालबालिकाको शिक्षासँग जोड्ने प्रयास गरिएको हो ।

हेटौैंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आर्थिक अभावकै कारण बालबालिकाले पढाईबाट वञ्चित हुन नपर्ने उद्घोष गर्नुभएसँग उपमहानगरले बालबालिकाको शिक्षामा सहयोग पुग्ने किसिमका योजनाका लागि बजेटलाई प्राथमिकता दिएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले २० लाख रुपैयाँ बजेट छुट्याएर विभिन्न उपसमितिमार्फत् कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
बालबालिकाको शिक्षाका लागि उपमहानगरको शिक्षा विकास महाशाखाले चालु आर्थिक वर्षका लागि ९७ वटा योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । महाशाखाले कार्यान्वयन गर्न बजेट विनियोजन गरिएका ८ वटा कार्यक्रम भने कोभिड–१९ का कारण कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो । बाल प्रतिभा पहिचान, भर्ना अभियान, किशोरी विद्यार्थीहरुको लागि आत्मरक्षा तालिम र तामाङ भाषा कक्षाका लागि योजना तथा कार्यक्रम बनाए पनि कोभिडका कारण अहिले रोक्नुपरेको खड्काले जानकारी दिनुभएको छ ।
शिक्षाका लागि हेटौंडा उपमहानगरमा ९३ करोड ६१ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन भएको महाशाखाका शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो । अहिलेसम्म महाशाखाले ६१ करोड रुपैयाँ बजेट खर्च गरेको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरभित्र स्थानीय पाठ्यक्रम लागू गर्ने कार्य पनि अगाडि बढेको खड्काले बताउनुभयो । पहिलो चरणमा कक्षा तीनसम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा स्वच्छ पिउनेपानीका लागि युरोगार्ड जडानको कार्यक्रमलाई पनि उपमहानगरपालिकाले प्राथमिकता दिएको छ । युरोगार्ड जडानका लागि चालु आर्थिक वर्षमा ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, नमुना बाल विकास कार्यक्रमका लागि पनि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको महाशाखाका शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो । कार्यक्रमका लागि प्रस्ताव पेश गरेकामध्ये चारवटा विद्यालय छनोट गरी नमुना बाल विकास कक्षा निर्माण गर्न बजेट उपलब्ध गराइने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेका एकसय २३ विद्यालयमध्ये ७७ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा इन्टरनेट जडान कार्यक्रम सम्पन्न भएको छ । आधारभूत तहका केही विद्यालयमा पनि इन्टरनेट जडानका लागि बजेट विनियोजन गरिएको छ । इन्टरनेट जडानका लागि माध्यमिक तथा आधारभूत विद्यालयहरुलाई बार्षिक १२ हजार रुपैयाँका दरले बजेट प्रदान गर्ने गरिएको खड्काले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट शैक्षिक सहायता कोषका लागि विनियोजन गरेको छ । यस्तै, अपाङ्ग तथा दलित छात्रवृत्ति कार्यक्रममा ५४ लाख २४ हजार बजेट रहेको जनाइएको छ । ४ लाख रुपैयाँको बजेटमा तथ्याङ्क सङ्कलनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा दरबन्दी मिलानका लागि अनुगमन भइसकेको र यस कार्य अन्तिम चरणमा रहेको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो । उपमहानगरपालिकाले कोभिड–१९ न्यूनीकरणका लागि स्वास्थ्य मापदण्ड निर्माण तथा लागू गर्ने उद्देश्यले विद्यालहरुमा प्रतिविद्यार्थी २ सय रुपैयाँका दरले २७ हजार १ सय २० विद्यार्थीलाई ५४ लाख २४ हजार रुपियाँ बजेट उपलब्ध गराएको छ । कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रमका लागि ३ करोड ३० लाख बजेट विनियोजन भएको छ । जसमा मंसिर र पुसको महिनाको हाजिर हेरेर प्रतिविद्यार्थी १५ रुपैयाँका दरले विद्यालयहरुलाई खाजा खर्च उपलब्ध गराइनेछ ।

महाशाखाले शिक्षक तथा कर्मचारीहरुको तलब निकासा समयमा गर्न र त्रुटीरहित बनाउन सफ्टवेयर बनाई व्यक्तिगत विवरण माग गरिएको छ । यसका लागि ५ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । महाशाखाले नगर शिक्षा समितिसमेतको समन्वयमा विषयगत समिति निर्माण गरेर प्रत्येक विद्यालयमा गइ विभिन्न विषयसँग सम्बन्धित समस्याको खोजी कार्यक्रम सञ्चालन गरेको छ । यस वर्ष २१ वटा विद्यालयमा अनिवार्य विषयलाई यस कार्यक्रममा समेटिएको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयोे ।