पदभार ग्रहणपछि कर्मचारीसँग सामाजिक विकास मन्त्री सरस्वती बस्नेत ।

हेटौंडाः बागमती प्रदेशको तीन मन्त्री र एक राज्यमन्त्रीले आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । बुधबार सपथ लिनुभएका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, आन्तरीक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

उनीहरुले मन्त्रालयबारे बिहीबार सचिवमार्फत सामान्य जानकारी लिएका छन् । सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सामान्य सबै क्षेत्रको जानकारी लिएको जानकारी दिनुभयो । बागमती प्रदेशमा पहिलो पटक महिलाले मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको हो । यसअघि बागमती प्रदेश सभामा महिलाको नेतृत्व हुनुपर्ने निकै आवाज सुनिएको थियो । मकवानपुरकी प्रदेश सभा सदस्य मुनु सिग्देलले पनि महिला नेतृत्व हुनुपर्ने माग पहिलेदेखि नै गर्दै आउनुभएको थियो । उहाँले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महिलालाई दिएकोमा बागमती प्रदेश सरकारलाई समेत धन्यवाद दिनुभएको छ ।

यसरी सुरुभयो राजनीतिक यात्रा २०१९ सालमा दोलखाको गौरीशंकर गाउँपालिकामा मन्त्री बस्नेतको जन्म भएको थियो । विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय बन्नुभएका बस्नेतले शिक्षण पेशा, सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाउनु भएको थियो । उहाँले यसअघि २०३२ सालमा हलेश्वर निमाविमा ६ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध रहनुभएको थियो । शान्ति आदर्श मावि लादुकमा पहिलो एसएलसी ब्याचको विद्यार्थी हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भएको उहाँको भनाई छ ।
अनेरास्ववियुको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष उहाँ निर्वाचित हुनुभयो । २०३७ सालमा शिक्षण पेशामा आवद्ध र शिक्षक संगठनबाट नै राजनीति शुरु सुर भएको उहाँ बताउनुहुन्छ । शिक्षक संगठनसङ्गै अनेमसंघको गाउँ कमिटी र गाउँ पार्टी कमिटी दुवैमा कृयाशील हुँदै गर्दा २०३७ सालदेखि अनेमसंघ जिल्ला कमिटीमा आबद्ध हुँदै सचिव र ३ कार्यकाल पश्चात उहाँ अध्यक्ष बन्नुभएको थियो । पछि अनेमसंघको केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाउनुभयो ।

अहिले मन्त्री बस्नेत नेकपा एमालेको अनेमसंघ केन्द्रीय सचिवालय सदस्य र बागमती प्रदेश अनेमसंघको सचिव समेत हुनुहुन्छ । गाउँ पार्टी कमिटी, जिल्ला कमिटी राष्ट्रिय परिषद सदस्य, अंचल कमिटी सदस्य हुँदै उहाँ प्रदेको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएको हो । उहाँ हाल प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत हुनुहुन्छ । २०७१ सालमा सुकुम्बासी आयोगको दोलखा जिल्ला अध्यक्ष, २०७४ सालमा दोलखा जिल्लाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित, प्रदेश सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सदस्यको जिम्मेवारी उहाँले सम्हालीसक्नुभएको छ । उहाँले कोभिडलाई नियन्त्रण र रोकथाप गर्ने तर्फ उन्मुख भएर मन्त्रालयले काम गर्ने बताउनुभयो । उहाँले आगामी बजेटमा पनि कोभिड क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनुभयो । बजेट सिलिङ आइसकेका कारण यसतर्फ ध्यान दिने उनको भनाई छ ।

यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बिहीबार मन्त्रालयबारे सचिवबाट जानकारी लिनुभएको छ । नेकपा एमालेमा रहँदा उहाँले सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष समेत बन्नुभएको थियो । ४४ सालमा एक हत्याकाण्डमा उहाँले ४ वर्ष जेल जिवन समेत बिताउनुभएको थियो । नेकपा एमालेको केन्द्रिय कमिटी लेखा आयोग सदस्य हुँदै अहिले केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । यसअिघ उहाँ बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिको सभापतिको जिम्मेवारी सम्हालीसक्नुभएको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हाल्नुभएको छ । उहाँ नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको प्रमुख सचेतक पनि हुनुहुन्छ । यसैगरी बागमती प्रदेश सभा सदस्य हुँदै पहिलो पटक डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ । संघीयतामा बागमती प्रदेश सरकारले यसअघि राज्यमन्त्री विस्तार गरेको थिएन् ।