गजानन्द बाजे बिहानै दुधको क्यान लिएर हाम्रै घरको बाटो हुँदै बजारतिर धाउनु हुन्थ्यो, फर्किँदा लरखराउँदै आउनु हुन्थ्यो । दुधको क्यान एकातिर, बाजेको ज्यान अर्कोतिर । मैले नबुझेर किन यसरी हिँडेको, बाटो रिजर्भमा भिडेको भन्दा उनी भन्थे, “शक्ति जलको करामत हो बाबु ।”

शक्ति जलको बारेमा जानकारी राख्दा उनी यसका जातजाती र शाखा सन्तानको बारेमा यसरी बेलि–विस्तार लाउँथे, “ ह्विस्की, ब्ल्याक लेभल, रेडलेभल, ब्यूलेभल, बियर, खुकुरी रम, जीन, ब्राण्डी, वाइन, भोड्का, अल्कोहल, रक्सी, मदिरा, लोकल ट्वाट, तीनपाने, ठर्रा, खोया बिर्के, नर्सिङ ट्वाक, छ्यावङ, निगार, कमेरेपानी…कति हो कति ।”

त्यस्तै अर्का परमानन्द बाजे थिए, उनी चाहीँ दिनभर कुन्नीे कता हराउँथे, साँझ परेपछि “कोही छ बाहिर निस्क” भनेर कराउँथे । उनीहरुको चर्तिकला देखेर दुनियाँ दंग पर्थे । बोल्ने र मुख खोल्ने आँट भने कसैको हुँदैन थियो, सबै रमिता मात्र हेर्ने गर्थे ।

राजकुमार लामिछाने

एकदिन गजानन्द बाजेको नक्कली दाँतको सेटै कुलोमा लडेर चेट भएछ । शक्ति जलको करामतले पुरै शक्ति भरिएका बाजे दाँत खोज्दा फिजेर मुसो जस्तो भएका । मेरो पालो छेउमै गएर बाजे माछा कति मार्नुभयो भनेको झण्डै नभकुरेका ।
एकपटक गाउँमा देउसी खेल्न गएको, भट्याउने बाजे निकै सिपालु थिए । उनले भट्याएपछि सबै लट्ठ पर्थे । थोरै पैसा दिने पनि धेरै दिउँदिउँ गर्थे । रात नछिपिञ्जेल साथीहरु “देउसी रे” भन्दै थिए । तर रात छिप्पिदै गएपछि शक्ति जल चडाएछन् “देउसी रे” को ठाउँमा “रक्सी ले“ भन्न थाले । शक्ति जल नखाएका हाम्रा स्वर विस्तारै गल्न थाले, उनीहरुका स्वर बल्न थाले । आखिर शक्ति जलकै बलले देउसी रे कार्यक्रम सफल भयो ।

एकदिन अफिस सकेर घरतर्फ जाँदै थिएँ । खोलाको बाटो हुँदै जानुपथ्र्यो । ठाडोखोला छङ्गछङ्ग गथ्र्यो । डराई–डराई साँघु तर्नु पथ्र्यो । एकजना दाजु शक्ति जलको बलमा लरखराउँदै एक हातमा हाँडी बोकेका, अर्को हातले चुरोट तान्दै खोकेका । यस्तो दृश्य देखिपछि, “यी दाजु साँघु तर्दा झर्नेछन्, खोलामा पर्नेछन् । होस हवास टुट्ने छ, हाँडी पनि फुट्ने” छ भन्ने जस्तो लाग्यो । रमिता हेर्न आनेकाने गर्दै म पछिपछि रहेँ । तर मेरो सोचले फेल खायो । उनी नहल्लिकनै लुई–लुई साँघु तरेर पारी गए, म हेरेको हेर्‍यै पो भएँ ।
भतेरचौरका भक्तिप्रसाद भडारी पनि गजबका पियक्केड थिए । उनी तीन दिन, तीन रातसम्म एकै ठाउँमा बसेर सोमरस पिउँथे । उनलाई कैयौ पटक परिवारले सुधार केन्द्रमा लगेर पनि राखे । सुधार केन्द्रमा बसुञ्जेल उनको बोलि, व्यवहार असल हुन्थ्यो । जब घरमा आउँथे तब सुध्रिएको उपलक्ष्यमा भनेर फेरी ठोडो घाँटी लाउँथे ।

हात्तीगौंडाका हर्कबहादुर होम्तेल श्रीमतीसँग झगडा पर्यो कि सरासर साइँलीको भट्टीमा धाउँथे र मज्जासँग सोड्के लाउँथे । बेलुका घर फर्किँदा झल्लु भएर आउँथे र ढोकामा लातीले पड्काउथे । विचरी श्रीमतीको सातो गएर कहिले घरै छाडेर भाग्थिन् त कहिले माइततिर लाग्थिन् । उनी सधै बिलौना गर्थिन, “यो शक्ति जलले गर्नसम्म गर्ने भो ।”
एकदिन हर्कबहादुर नराम्रोसँग बिरामी भए । श्रीमतीले अस्पताल लगेर जाँच गर्दा उनको मुटु, कलेजो खत्तम भइसकेको, फोक्सो पनि गइसकेको रहेछ । “मिलाएर खाए बल, नभए जीवन चाँडै चल” भनेझै जतिखेर पनि झुमबहादुर हुने होमबहादुरको हर्कत अन्ततः हावामा हुइकियो । खाँदा मित जस्तो लागेपनि कालान्तरमा हित नगर्ने यो जलप्रति सबैको आकर्षण बढेको देख्दा शक्तिजल प्रतिको भक्ति अचम्म लाग्यो ।
शक्ति भएरै त होला अघिपछि नबोल्ने मान्छे पनि मदिरा सेवन गरेपछि आकाश पातालका गफ झिकेर बोलेको बोल्यै, मुख खोलेको खोल्यै गर्छ । सामान्य व्यक्ति पनि अंग्रेजी फरर छाट्न थाल्छ । असम्भव काम पनि आट्न थाल्छ । अलिकति पिउनासाथ कुनै सिरक डस्ना नभए पनि सडक पेटीमा रात कट्दो रहेछ । लडेर नालीमा पर्‍यो र भनेपनि सुरक्षाकवचको काम गर्दो रहेछ । घरमा खान्कीको अभाव पर्‍यो, नातागतले शरी गल्यो भने पनि तीनपानेमा अलिकति शुद्ध पानी घोल्यो भने जोस र जाँगर आउँदो रहेछ । “घाँटी हेरी हाड निल्नु” भनेझैं आफ्नो हैसियत अनुसार मित्रताको साथ बढाउन सकिने शक्तिबद्र्धक टोनिकको करामत कति हो कति ।

यसले प्रतिभाको पनि विकास गराउँदो रहेछ । पार्टी, पिकनिक वा भोजभतेरमा नाचौं नाचौं, कम्मर भाँचौ भाँचौं भएर आउने । झुम भएर संगीतको धुनमा रमेपछि अरुले पालै नपाउने । गीत, गजल, कविता र मुक्तक पनि फुरेको फुर्यै ।
कोट र ईस्टकोटका भित्रिखल्तीमा बोक्न मिल्ने, बिर्को नखुले दाँतले टोक्न मिल्ने, गिलासमा हालेर वा बोतलबाट सिधै पिउन मिल्ने, जतिखेर पनि सुड्क्याउन मिल्ने, कसैले जोरी खोजे मुड्क्याउन मिल्ने, खाएपछि मातिरहने, शरीर तातिरहने कस्तो बहुउपयोगी छ यो शक्तिजल ।
यस्तो बहुउपयोगी शक्तिबद्र्धक टोनिक सेवनका लागि मलाई शरीरले कहिल्यै साथ दिएन । बेलाबेलामा आफ्नो शरीरदेखि आफैलाई रिस उठेर आउथ्यो । पार्टीमा गयो अरु मस्तसँग झुल्न थाल्थे, आनन्दमा भुल्न थाल्थे। तर आफू भने एक्लै दायाँ बायाँ डुल्न थाल्थे ।

एकदिन मैले एकजना मेरा मित्रसँग दुखेसो पोखेँ । उनले मलाई गजबको तरिका सिकाई दिए, “शक्ति जलका सबै शाखा सन्तानसँग एकैचोटि जोरी खोज्नु हुँदैन । पहिला बियरबाट हल्का गियर लगाउने । आज एक नम्बर गियर अर्थात एक बोतल । भोलि दुई नम्बर गियर अर्थात दुई बोतल । यसैगरी गियर बढाउँदै जाने । विस्तारै यसका सबै शाखा सन्तानले बोलाउँछन् । चिन्ता गरेर टोलाउनै पर्दैन भनेर उनी आफ्नो बाटो गए, म खुशीले धन्य भए ।
शुभकार्यमा किन ढिला गर्ने भनेर साथी र म भोलिपल्टै गयौँ दिलमाया रेष्टुरेन्ट एण्ड बारमा । साथीले भनेझैं पहिलो दिन एक बोतल बियरमा गियर लगाइयो । कति न मिठो होला भनेको त तितो तितो भयो । “ल आजलाई यति भोलि यही टाइममा“ भनेर हामी छुट्टियौं ।

साइकल चढेर घरतर्फ जाँदै थिएँ, आधी बाटो पुगेपछि शरीर पुरै हल्लायो । भुइँचालो हो कि भन्ठानेको तर सबै आ–आफ्नो सुरमा हिँडिरहेका । यसो सोँचे पक्कै शक्तिजलको करामत हो । घर पुग्न केहिबेर मात्र बाँकी थियो, चक्कर लागेर सडकमै लडेँ । झमक्क रात परिसकेको हुँदा कसैले देखेनन् जस्तो लाग्यो ।
कुन तालमा घरपुगेँ पत्तै भएन । स्वस्थानी भन्ने महिना भएकोले आमा घुत्रुक्क बसिरहनु भएको रहेछ । कुरो खुल्ला भनेर आफैंले अलि सन्चो भएन, रिंगटा लागिरहेको छ, म खाना पनि खान्ने, भनेँ । आमाले, “च्यानडाँडाको बाटो नहिँड भन्दा मान्दैनस्, पक्कै केही लाग्यो होला” भन्नुु भयो । कुन सुरले स्वस्थानी वाचन गरेँ अतोपत्तो भएन । भोलिपल्ट बिहान पो गाउँभरी बुइबुइ सुनियो, “फलानाले रक्सी खाएको शुरुमा साइकल नै काँधमा हालेर घर गयो रे ।”

मैले उनीहरुको कुरातिर त्यति ध्यानै दिइन, तर मनमनै सोचेँ, “शक्ति जलमा साँच्चै शक्ति त हुँदो रहेछ नि ! नत्र भने साइकल काँधमा हालेर कसरी बोक्न सक्थे ? अनि कताकता डर पनि लाग्यो एक नम्बर गियरमा त यस्तो हालत भयो दुई तीन…नम्बर गियरमा झन कस्तो होला?
इति