फाइल तस्विर

हेटौंडाः बागमती प्रदेश प्रहरीले घूस रकम लिने प्रहरीहरुलाई भट्टाभट्ट पक्राउ गरेर कारबाही गर्न सुरु गरेसँगै प्रहरीले घूस दिनेलाई पक्रन थालेका छन् । शुक्रबार पनि ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ४ जना सवारी चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले बताउनुभयो ।

पछिल्लो एक साताको अवधिमा मात्रै प्रहरीलाई घुस रकम दिन खोज्ने २० जना सवारी चालकहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सधै प्रहरीलाई घूस दिएर उम्कने चालकहरु पनि यो पटक भने प्रहरीको फन्दामा परेका छन् । विगतदेखि नै राँगा, भैंसी लोड गरेर ल्याउने गाडिहरु विवादमा आएपछि प्रहरीकै मिलेमतोमा पास हुने गरेका थिए । तर अहिले उनीहरु सबै फन्दामा पर्न थालेका छन् । शुक्रबार ४ जना चालकहरुले ड्युटीमा खटेका नेवारपानी चेकपोष्ट र हेटौंडा पशुपतिनगरको चेकपोष्टका प्रहरीहरुलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना ८ ख २४२२ नम्बरकोे डिब्बा गाडीको चालक मकवानपुरगढी गाउँपालिका–४ का जितेन्द्र विष्ट, ना ६ ख १५४३ नम्बरको ट्रकचालक रौतहट चन्द्रपुर नगरपालिका–६ का सुमन मगर, प्रदेश नं. २–०३००१ ख १४८७ नम्बरको ट्रकचालक रौतहट चन्द्रपुर नगरपालिका–४ का रामजन राई र को १ ख ७३०९ नम्बरको मिनिट्रकको चालक सिराहा जिल्ला गोलबजार नगरपालिका–८ का नौसाद मिक्रानलाई पक्राउ गरको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित भैंसी लोड गरी ल्याएकोमा घुस दिन खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले बताउनुभयो ।

लागूऔषधसहित नेपाल पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषधसहित पिकअप गाडि र चालक सुरेश नेपाललाई पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले हेटौंडा–१५, लच्कास्थित पूर्व पश्चिम लोकमार्ग खण्डबाट लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको पिकअप गाडि सहित हेटौंडा–१५ का सुरेश नेपाललाई पक्राउ गरेको हो ।

ग १ च २८१७ नम्बरको भुसा लोड गरी आएको पिकअप गाडीलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले उक्त गाडीबाट लागुऔषध डाईजेपाम १९३ एम्पुल, नुर्फिन २०३ एम्पुल र फेनारगन १८५ एम्पुल फेला पारेको थियो । उनीमाथि लागूऔषध ओसारपसार मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।