मकवानपुर क्याम्पसमा छलफलमा सहभागी हुनुहुँदै त्रिवि उपकुलपति धर्मकान्त बास्कोटा ।

हेटौंडाः त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसको अवलोकन गर्नुभएको छ । आज बिहान क्याम्पसको अवलोकन गर्नुहुँदै क्याम्पस सञ्चालक समिति र क्याम्पसका प्राध्यापक, कर्मचारीसँग अन्तरक्रिया समेत गर्नुभएको छ । त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तहमा कानुन संकाय र इन्जिनियरिङ विषयको सम्बन्धनका लागि उपकुलपतिसँग प्रस्ताव गरिएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

छलफलमा उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले इन्जिनियरिङ संकायको सम्बन्धन अन्य संकायसँग दिन नमिल्ने व्यवस्थाबारे जानकारी गराउनुहुँदै स्नातक तहमा कानून संकायको सम्बन्धन दिन सकिने र प्रक्रिया अगाडि बढाउन भन्नुभएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । उपकुलपतिसँगको छलफलमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त प्रसाद पौडेल, सदस्यहरु बद्रिप्रसाद लम्साल, अशोक शाक्य, राजीव सुवेदी, सहायक क्याम्पस प्रमुखहरु रामेश्वर बराल, डा. रामप्रसाद अधिकारी, डा. यमबहादुर सिलवाल, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भोजराज ढकालको पनि उपस्थिति रहेको थियो ।