हेटौँडा : शिक्षक आन्दोलनका कारण बागमती प्रदशेका विद्यालयहरुले धमाधम भर्ना अभियान स्थगित गरिरहेका छन् । प्रदेशका विभिन्न स्थानीय तहमा रहेका विद्यालयहरुले नयाँ शैक्षिक सत्र सुरु भएसँगै सुरु भएको भर्ना अभियान शिक्षक आन्दोलनका कारण विद्यालयहरुले सूचना जारी गरी स्थगित गरेका हुन् ।
विद्यालयहरुले सूचना जारी गर्दै शिक्षक आन्दोलनका कारण असहज परिस्थिति निम्तिएको भन्दै अर्को सूचना नभएसम्मका लागि भर्ना अभियान रोकेका हुन् । मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयले मंगबलार सूचना जारी गर्दै भर्ना अभियानसहित विद्यालयका प्रशासनिक कार्य अघि बढाउन नसक्ने बताएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिकाको चन्द्रावती माध्यमिक विद्यालयले पनि भर्ना अभियान रोकेको छ । शिक्षक आन्दोलनका कारण सो विद्यालयले मंगलबार सूचना जारी गर्दै भर्ना अभियान अघि बढाउन नसक्ने जनाएको हो ।
यता हेटौँडा–१९ को निर्मल माध्यमिक विद्यालय, हेटौँडा–१४ को जनज्योति माध्यमिक विद्यालय, भरतपुर–१० चितवनको नारायणी नमुना माध्यमिक विद्यालय लगायतले सूचना जारी गर्दै भर्ना अभियान रोकेको छ । विद्यालयले शिक्षक आन्दोलनका कारण असहजता भएको भन्दै अर्को सूचना नभएसम्मका लागि भर्ना अभियान रोकेको हो । गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् तीनपाटन गाउँपालिका सिन्धुलीका अध्यक्ष कर्णबहादुर थापाका अनुसार शिक्षकहरुको आन्दोलनको स्वरुप परिवर्तन भइरहेको छ । आन्दोलनका कारण केही विद्यालयहरुले अभियान अघि बढाउन नसक्ने भनेर सूचना जारी गरेको उहाँले बताउनुभयो । शिक्षक आन्दोलन र विद्यार्थी भर्ना अभियानलाई स्थानीय स्तरबाट त्यसमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उहाँले बताउनुभयो ।
शिक्षक आन्दोलनको विषयमा स्थानीय तहहरुले पनि प्रतिवद्धता जनाएको र विद्यालय नै ठप्प गरेर शिक्षाको अधिकार माथि बन्देज लगाउन नहुने उहाँले बताउनुभयो । शिक्षक आन्दोलनका सन्दर्भमा गाउँपालिका तथा नगरपालिका महासंघबाट पनि प्रतिवद्धता जारी भएको र शिक्षकका मागका सन्दर्भमा ऐक्यवद्धता जनाएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार सरकारले शिक्षकसँग भएको ७ बुँदे सहमतिका विषयहरु कार्यान्वयन गरी सहज वातावरण तयार गर्नुपर्छ भन्ने महासंघको धारणा हो । विद्यालयहरुले रोकेको भर्ना अभियानलाई महासंघको बैठक बसेर आवश्यक निर्देशनसहित स्थानीय तहका गतिविधि अघि बढाउने उहाँले बताउनुभयोे ।
शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक खुविराम अधिकारीका अनुसार संघीय सरकारको परिपत्र अनुसार भर्ना अभियान अघि बढाइएको छ । विशेषगरी भर्ना अभियान विद्यालयहरुले संचालन गर्ने भएकाले प्रदेश सरकारका तर्फबाट निर्देशनालयले त्यसमा समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । संघीय सरकारको नारालाई सार्थकता दिन स्थानीय तहहरुसँग समन्वय भइरहेको र विद्यालयहरुका समस्याका विषयमा पालिकाहरुसँग छलफल गरेर सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय तहलाई निर्देशन गरेर भर्ना अभियानलाई प्रभावकारी बनाउन प्रदेशबाट भूमिका निर्वाह भएपनि अभियान अन्तर्गत प्रदेशले नयाँ कार्यक्रम र ठोस योजना भने नरहेको उहाँले बताउनुभयो ।
शिक्षक अन्दोलनले भर्ना अभियानलाई प्रभावित बनाउने निश्चित रहेको उल्लेख गर्नुहुँदै उहाँले तत्काल त्यसको असर नदेखिए पनि निकट समयमा प्रभाव देखिने बताउनुभयो । ‘भर्ना अभियानमा भर्खरै सुरु भएकाले शिक्षक आन्दोलनको असर नदेखिएको हो । आन्दोलन लम्बिने अवस्था बन्यो भने भर्ना दर न्यून हुन्छ’, उहाँले भन्नुभयो, ‘केही विद्यालयले परिस्थिति सहज नरहेको भन्दै अभियान रोकेका पनि छन् । जसले अभिभावक र विद्यार्थीहरु मर्कामा पर्दछ । शिक्षक अन्दोलन व्यवस्थापन नभए अभिभावक र विद्यार्थीहरु अन्योलमा पर्ने र शैक्षिक क्षेत्र धरासायी बन्ने अवस्था रहेको छ ।’
विद्यालयमा कक्षा संचालनको समय १२–१५ गतेपछि हुने भएकाले शिक्षक अन्दोलनलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षक अन्दोलन व्यवस्थापनमा प्रदेशको खासै भूमिका नदेखिएको उहाँको भनाइ छ । विद्यालय शिक्षा स्थानीय तहमा र विद्यालय शिक्षा प्रदेशको साझा अधिकार अन्तर्गत रहेकाले भूमिका नदेखिएको उहाँले बताउनुभयो । माग भएका र आवश्यक देखिएमा समन्वय तथा सुझावको काम गरिरहेको उहाँले बताउनुभयो । शिक्षा ऐनले प्रदेशको क्षेत्राधिकार तोकेको खण्डमा भर्ना अभियानसहित विद्यालय शिक्षाको क्षेत्रमा काम गर्न सक्ने उहाँको भनाई छ ।
हाल प्रदेशमा भर्ना दर १०० मा ९६ जना रहेको उनले बताए । सोही अनुपातमा यस वर्ष पनि विद्यार्थीहरु भर्ना हुने निर्देशनालयको मुल्यांकन रहेको उहाँको भनाई छ । २०७८ देखिको तथ्यांक हेर्ने हो भने धेरै विद्यार्थीहरु विद्यालय बाहिर छैनन् । विद्यालयहरुलाई सहयोगका कार्यक्रम ल्याएर विद्यार्थीहरुलाई विद्यालयसम्म पुर्याउने काम प्रदेशबाट भएको उहाँले बताउनुभयो ।