हेटौँडा : हेटौँडा अस्पतालको बोर्ड मेटाउने क्रममा प्रयोग भएको जीप र जीप चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान हेटौँडा अस्पतालको बोर्ड मेटाउने क्रममा प्रयोग भएको ना १ ज ७१२६ नम्बरको जीप र जीप चालक मनहरी गाउँपालिका–३ का सन्देश भ्लोनलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
हेटौँडा अस्पतालको बोर्ड मेटाउने क्रममा भ¥याङ ढुवानी गर्न, हेटौँडा अस्पतालको बोर्डभन्दा तल्लो भागमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामलाई छोपेर हेटौँडा अस्पतालको व्यानर राख्ने काममा जीपलाई प्रयोग गरिएको थियो । जीपको हुटमा बसेर फ्लेक्स टाँस्ने कार्य गरिएको थियो । प्रहरीले जीपलाई प्रहरी कार्यालयमै राखेर चालकलाई भने आवश्यक पर्दा जिल्ला प्रहरी कार्यालय हाजिर हुने गरी छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
अस्पतालको बोर्ड मेटाउनेहरुलाई भने प्रहरीले खोजी गरिरहेको जनाएको छ । अस्पतालको बोर्ड मेटाउने कार्यमा विभिन्न राजनीतिक दल र तिनका संगठनमा आवद्ध व्यक्तिहरु भएकाले प्रहरीले नियन्त्रणमा लिने विषयलाई चासोका साथ हेरिएको छ । स्थानीय प्रशासन भने राज्यको सम्पत्तिमाथि बलजफती गरेको घटनालाई संवेदनशील ढंगले हेरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा देखिएको छ ।