हेटौँडा : हेटौँडा–११, नवलपुरमा बुधबार राती मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । बुधबार राती १० बजेर ५५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभर्‍याङबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर अन्दाजी ५० फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा–११, नवलपुरका ३६ वर्षीय रोहित भन्ने मान बहादुर रुम्बा र पछाडि सवार २४ वर्षीय उमेश तामाङ गम्भीर घाइते भएका थिए । घाइते उमेशलाई उपचारका लागि हेटौँडा–११, थानाभर्‍याङस्थित सीएमसी चुरेहिल हस्पिटल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । यस्तै टाउको, बायाँ हात र खुट्टामा चोट लगेका मोटरसाइकल चालक मानबहादुरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।