बागमती प्रदेश सरकारको प्रभावकारी कार्यक्रम मानिएको विद्यालय नर्सको व्यवस्थापनमा समस्या देखिन थालेको छ । २०७५ सालबाट प्रदेश सरकारले ‘एक विद्यालयः एक नर्स’ कार्यक्रम घोषणा गरेर प्रदेशभित्रका सामुदायिक माध्यमिक विद्यालयमा स्टाफ नर्स उपलब्ध गराउन थालेको थियो । पहिलो वर्ष २० वटा विद्यालय छनोट गरेर स्टाफ नर्स खटाएको प्रदेश सरकारले यो कार्यक्रम व्यापक विस्तार गरिसकेको छ । विद्यार्थीको स्वास्थ्य, पोषण, सचेतनामा सहयोगी बनिरहेको विद्यालय नर्सको सुविधा अहिले प्रदेशको ८ सयभन्दा बढी विद्यालयमा पुगेको छ । अब करिब ५ सय माध्यमिक विद्यालयमा नर्सको दरबन्दी पुग्न बाँकी छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामार्फत् स्टाफ नर्स छनोट गरेर करारमा नियुक्त गरी विद्यालयमा खटाउँदै आएको छ । एक विद्यालय एक नर्स कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधि बनाएर लागू गरेको छ । विद्यालयमा अध्यापनसँगै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्सको व्यवस्था गरिएको हो । प्रदेशका ८४८ माध्यमिक विद्यालयमा विद्यालय नर्सको सेवा उपलब्ध भए पनि दुर्गम क्षेत्रका विद्यालयमा नर्सलाई टिकाउन मुस्किल हुने गरेको छ । दुर्गमका विद्यालयमा नियुक्ति भएका स्टाफ नर्स विदेश जाने वा सुगमका अस्पताल तथा अन्य क्षेत्रमा सेवा गर्ने अवसर पाउँदा दुर्गममा नर्स टिकाउन गाह्रो हुने गरेको छ । रिक्त दरबन्दीमा वैकल्पिक सूचीबाट नर्स नियुक्ति गर्न सकिने व्यवस्था भए पनि विभिन्न जिल्लाका करिब ६० वटा विद्यालयमा नर्सको दरबन्दी रिक्त रहेको छ ।
बागमती प्रदेशको विकट तथा दुर्गम क्षेत्रका विद्यालयहरुमा नर्सको पद रिक्त छ । विद्यालयमा नियुक्त भएका नर्सले जागिर छाडेपछि विद्यालयमा नर्सको सेवा अवरुद्ध भएको छ । नगरपालिकाभन्दा गाउँपालिकाहरुमा नियुक्त गरिएका धेरैजसो नर्सहरुले जागिर छाडेको पाइएको छ । ३३ गाउँपालिका र एक नगरपालिकाका विद्यालयमा नर्स छैनन् । काभ्रेको २, सिन्धुपाल्चोकको ६, दोलखा ६, रसुवाको ३, धादिङको ६, रामेछापको ५, ललितपुरको १, नुवाकोटको ४ गाउँपालिकामा नर्स छैनन् भने नुवाकोटको एक नगरपालिकामा पनि नर्स रिक्त रहेको छ । ग्रामीण क्षेत्रका विद्यालयमा काम गर्न कठिन रहेको र विदेशिने क्रम बढेकाले नर्सहरु शहर, बजार पायक क्षेत्रमा आकर्षित हुने गरेको देखिन्छ । गत पुससम्म करिब एक सयको संख्यामा नर्सहरु रिक्त भएपनि हाल ६१ विद्यालयमा मात्र नर्स सेवा रिक्त रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । रिक्त रहेका विद्यालयमा निर्देशनालयमार्फत् छनोट गरी नर्सहरुलाई नियुक्त दिने काम भइरहेको बताइएको छ ।
किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै यो कार्यक्रम लागू गरिएको भए पनि विद्यालयमा विद्यार्थी घाइते हुँदा वा अपर्झट कुनै स्वास्थ्य समस्या आउँदा यसले निकै सहज भएको छ । आवश्यक सामग्रीसहित स्टाफ नर्सको व्यवस्थाले विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिमा सहयोग पुगेको छ । विद्यार्थीको स्वास्थ्य, सरसफाइ, पोषणको अवस्था सुधारसँगै नियमित उपस्थिति र पूरै समय विद्यालयमा रहने क्रम बढेकाले शैक्षिक गुणस्तर वृद्धि गर्न पनि यो कार्यक्रम महत्वपूर्ण भइरहेको छ । विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयमा नियुक्त गरिएका नर्सलाई टिकाउन स्थायित्व र थप सुविधा दिनुपर्छ । खाली ठाउँमा छिट्टै नर्स नियुक्ति गरेर दुर्गममा कार्यरत नर्सलाई टिकाउने प्रभावकारी उपाय अपनाउन मन्त्रालयको ध्यान पुगोस् ।