हेटौँडा : बागमती प्रदेश सरकारले विद्युतीय प्रणाली मार्फत् स्वास्थ्य संस्था दर्ता तथा नवीकरण सुरु गरेको छ । प्रदेश सरकारले संशोधित प्रदेश स्वास्थ्य ऐन २०७५ कार्यान्वयन गर्दै विद्युतीय प्रणाली मार्फत् स्वास्थ्य संस्था दर्ता तथा नवीकरण अघि बढाएको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले उक्त ऐन अनुसार अनलाईनबाटै स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्नेगरी प्रविधि तयार गरेको थियो । गत फागुनमा मात्र सुरुवात गरिएको उक्त प्रविधिबाट मन्त्रालयले नीजि स्वास्थ्य संस्थाहरुको दर्ता तथा नवीकरणको काम अघि बढाएको हो । अनलाइनबाट प्राप्त निवेदनका आधारमा मन्त्रालयले आइतबारबाट स्वास्थ्य संस्थाको अनुगनम गरेको छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको नेतृत्वको टोलीले आइतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको थियो । २०० शैय्याको अस्पताल संचालनको अनुमति रहेको नर्भिकले नवीकरणका लागि अनलाईन मार्फत् आवेदन दिइएको थियो । सोही आवेदनका आधारमा सचिव डा. गौतमको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति, नवीकरणका लागि नर्भिकको आवेदन परेपछि अनुगमन गरिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार नर्भिकको वैधानिक व्यवस्था, उपचार सेवा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य प्रयोगशाला, संक्रमण रोकथाम, विपद् व्यवस्थापन लगायतका मापदण्डहरु निरीक्षण गरिएको छ । टोलीले अस्पतालको भौतिक संरचना, सरसफाइ, बिरामी सेवा प्रणाली तथा स्वास्थ्य सुरक्षा मापदण्डको समेत निरीक्षण गरेको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको हालको सेवा, सञ्चालन प्रक्रिया र आगामी विस्तार योजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले सन् २०२५ भित्र नयाँ अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्न लागिरहेको र यसले नेपालको निजी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा अझै थप्ने बताउनुभयो । आधुनिक उपकरण, दक्ष विशेषज्ञ टोली र प्रभावकारी सेवा प्रवाहमार्फत नर्भिकले हरेक वर्ष हजारौं बिरामीलाई सेवा दिँदै आएको कार्यकारी अधिकृत मिश्रले जानकारी दिनुभयो ।
अनुगमनपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले अनुगमन नियमित प्रक्रिया भएको उल्लेख गर्नुभयो । स्वास्थ्य संस्थाहरुले निर्धारित मापदण्ड पालना गरे वा नगरेको सुनिश्चित गर्न अनुगमन आवश्यक रहने उहाँले बताउनुभयो । नर्भिकले सेवा विस्तार योजनामा प्रदेशको स्वास्थ्य नीतिअनुसार काम गरेको अनुगमनका क्रममा देखिएको उहाँको भनाई छ । अनुगमनपछि मन्त्रालयले दिएको प्रारम्भिक प्रतिक्रियामा अस्पतालको सेवा मापदण्ड सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया सम्बन्धित प्राविधिक मूल्यांकनपछि अघि बढाइने प्रवक्ता डा. गेलालले बताउनुभयो ।