हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा आइतबार भएको छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, धादिङ, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लाका ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१, देवघाटमा रहेको गोरखाली धर्मशालामा बस्दै आएका पुरुषको मृत्यु भएको छ । आइतबार बिहान ६ बजेर ५० मिनेटको समयमा नामथर नखुलेको अन्दाजी ७० वर्षीय पुरुषको मृत्युु भएको प्रहरीले जानकारी दिएको छ । पुरुष धर्मशालामा विगत एक वर्षदेखि बस्दै आएका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लाागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
चितवनको ईच्छाकामना गाउँपालिका–६, पञ्चदेवी मन्दिर नजिक त्रिशुली नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो ४ बजेको समयमा किनारमा सडेगलेको उमेर समेत एकिन गर्न नसकिने अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभिरमा मोटरसाइकल सडकबाट त्रिशुली नदीमा खस्दा चालकको मृत्युु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–९ का २६ वर्षीय मिन बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेर २० मिनेटको समयमा पृथ्वी लोकमार्गमा कुन दिशातर्फ जाँदै गरेको नखुलेको बा प्र ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो । तामाङको शव साँझ ६ बजेर २० मिनेटको समयमा त्रिशुली नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१, भन्ज्याङस्थित लामा गेष्ट हाउसमा लेक लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–५ का ४५ वर्षीय सुम्बा घले रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा गोसाईकुण्डबाट घ्याङफेदी भारी बोकेर हिँड्दै आएका सुम्बा लामा गेष्ट हाउसमा बास बस्दा लेक लागी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–३, नयाँगाउँमा स्कारपियोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ ६ बजेर ४५ मिनेटको समयमा नगरकोट–कुन्तावेशी सडकखण्डमा कुन्ताबाट नगरकोटतर्फ जाँदै गरेको बा १८ च ९९५९ नम्बरको स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कारपियोको ठक्करबाट मण्डनदेउपुर नगरपालिका–४ का ५८ वर्षीय गोठे कामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।