हेटौँडा : अल्पसंख्यक जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, व्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा शनिबार सामग्रीहरु वितरण गरिएको हो ।
अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको हो । वडा अध्यक्ष प्र्रकाश थापाले वनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, व्याग र स्टेशनरी सामग्री वितरण गर्नुभयो । सहयोग सामग्री वितरण कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाका लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सिल ५ बक्स, सार्पनर १५ बक्स, ईरेजर १५ बक्स, रेकर्ड फाईल ५० वटा लगायतका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो । अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा सन्तोषी परियोजना अन्तर्गत १ वर्षका लागि ट्युसन कक्षा संचालन गर्न प्रदान गरिएको हो । परियोजना अन्तर्गत सन् २०१५ देखि सन्तोषी वनकरियाले वनकरियासहितका बालबालिकालाई निःशुल्क ट्युसन अध्यापन गराउँदै आउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, कर्मचारी रुकमणि श्रेष्ठ, बंगलादेशी स्वयम्सेवक एलिजा बास्के र अप्सना अलि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । यसैबीच, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा शुक्रबार जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीहरुलाई पारेको असरबारे छलफल कार्यक्रम भएको छ । वनकरियासहित स्थानीय महिला तथा किशोरीको सहभागिता रहेको कार्यक्रममा बंगलादेशी स्वयम्सेवक एलिजा बास्के र अप्सना अलिले सहजीकरण गरेका थिए । साथै कार्यक्रममा कडाईको तालिम समेत दिइएको थियो । यसअघि राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले दातृ निकायको सहयोगमा वनकरिया समुदायका लागि पुस्तकालयसँगै साबुन बनाउने तालिम समेत प्रदान गरेको थियो ।