हेटौँडा : काठमाडौंमा जारी शिक्षक आन्दोलनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले पनि ऐक्यवद्धता जनाएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले आइतबार एक विज्ञप्ती जारी शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो । यसअघि शनिबार नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँले शिक्षकको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको थियो ।
वर्तमान सरकारको असंवेदनशीलताले आन्दोलनको बाध्यतात्मक परिस्थिति सिर्जना भएको महासंघको ठहर रहेको र त्यसमा माओवादी केन्द्रको समेत ऐक्यवद्धता रहेको जनाइएको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारीहरुको न्यायपूर्ण मागहरुलाई सम्बोधन नगरेको, गुणस्तरीय तथा सर्वसुलभ विद्यालय शिक्षाको प्रत्याभूति गर्न सक्ने स्पष्ट नीति र संरचना सहितको उपयुक्त शिक्षा ऐन जारी गर्न ढिलाइ गर्दा शिक्षकहरु आन्दोलनमा उत्रिएको अध्यक्ष सहयात्रीले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।
माओवादी केन्द्र बागमतीले सरकारले तत्काल वार्ता टोली गठन गरी विगतका सहमतिहरूको सम्मान गर्दै शिक्षा ऐन जारी गर्ने प्रक्रिया अगाडि बढाउन माग गरेको छ । शिक्षकहरुको आन्दोलनको उचित सम्बोधन नगरी बेवास्ता गर्ने वा आन्दोलनको चरित्रलाई विकृत पार्ने उद्देश्यबाट सिर्जना हुने जटिल परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘माओवादी केन्द्र बागमती प्रदेश समिति शिक्षकहरुको आन्दोलनप्रति पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असौज ५ गते भएको ६ बुँदे सहमति र असा्ज १२ गते भएको ५ बुँदे सहमति शिक्षा ऐनमा संस्थागत गर्नुपर्ने छ’, विज्ञप्तीमा उल्लेख छ ।
सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक एवम् कर्मचारीहरुको सेवा, सुरक्षा, समान सुविधा, वृत्ति विकास, समायोजन, स्थायीत्व लगायतका विषयमा सरकार र शिक्षकहरु बिचको सहमति रहेको माओवादी केन्द्र बागमती प्रदेशको भनाई छ । माओवादी केन्द्र बागमती प्रदेशले उक्त सहमतिलाई कार्यान्वयन गर्न गठित प्राविधिक समितिहरूले यसअघि नै तयारी गरिसकेको र त्यसलाई शिक्षा ऐनमार्फत संस्थागत गर्नुपर्ने स्पष्ट आवश्यकतालाई ध्यानमा राख्नुपर्ने सरकारलाई आग्रह गरेको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा चैत्र २० गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन आन्दोलन सञ्चालन गरिएको छ ।