हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा आइतबार एकै दिन २ बालिकासहित एक जना महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । प्रदेशको रामेछाप जिल्लामा १२ वर्षीया बालिका र दोलखा जिल्लामा १५ वर्षीया बालिकाले आत्महत्या गरेका छन् भने नुवाकोट जिल्लामा ६५ वर्षीया महिलाले आत्महत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । यस्तै काभ्रेपलाञ्चोकमा एकजना पुरुषले विषादी सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, माझीगाउँमा एक बालिकाले आत्महत्या गरेकी छिन् । आइतबार बिहान ९ बजेको समयमा १२ वर्षीया शर्मिला माझी आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । शर्मिला आफ्नै घरभित्रबाट चुकुल लगाई काठको दलिनमा पछ्यौराको पासो लगाई झुण्डिएको अवस्थामा फेला परकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–३, सिंगटीबजार एक बालिकाले आत्महत्या गरेकी छन् । कालिन्चोक गाउँपालिका–४, नरेभुई घर भई सिंगटीबजार बस्ने १५ वर्षीया रोजिना नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । आइतबार राती ७ बजेर १५ मिनेटको समयमा रोजिना काठको बलोमा नाइलनको डोरीको पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–९, बाघखोरमा एक जना महिलाले आत्महत्या गरेकी छन् । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा ६५ वर्षीया माईली माया तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । तामाङ आफ्नै घरदेखि एक सय मिटर पर आफ्नै पाखाबारीमा रहेको आरुको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–११, मानेस्वारामा एक पुरुषले विषादी सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ५० वर्षीय सुकमान तामाङले आफ्नै घरमा तरकारी बालीमा हाल्न ल्याएको विषादी सेवन गरेको प्रहरीले जानकारी दिएको छ । तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।