हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा रुखबाट लडेर एकैदिन २ जनाको मृत्यु भएको छ भने निल गाईको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट र सिन्धुली जिल्लाका २ जनाको रुखबाट लडेर मृत्यु भएको छ भने चितवनमा निल गाईको आक्रमणबाट महिलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२४ मा निल गाईको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया लक्ष्मी नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो २ बजेको समयमा भरतपुर महानगरपालिका–२५ मा रहेको राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी लक्ष्मी निल गाईको आक्रमणबाट गम्भिर घाइते भएकी थिइन् । घाइते लक्ष्मीलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएकोमा दिउँसो ४ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–२, ज्यामिरेमा रुखबाट लडेर घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कुवापानीका ७१ वर्षीय शम्भु आले मगर रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ९ बजेर ३० मिनेटको समयमा शम्भु घर नजिकै रहेको कटुसको रुखबाट लडेर घाइते भएका थिए । घाइते शम्भुलाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटि अस्पताल लगिएको थियो । उपचारको क्रममा शम्भुको आइतबार बिहान ७ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको तिनपाटन गाउँपालिका–२, सखाजोरमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय तोरण बहादुर रखाल रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो २ बजेको समयमा तोरण बहादुर घाँस काट्न गएका थिए । घाँस काटन गएका तोरण बहादुर अबेरसम्म नआएका पश्चात खोज तलास गर्दै जाँदा आइतबार दिउँस २ बजेर ३० मिनेटको समयमा मुङ्ग्रेमाडी जंगलमा रुखबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।