नेपाल सरकारले किशोरीलाई क्यान्सरबाट जोगाउन गत माघ २३ गतेबाट एचपिभी खोप अभियान सञ्चालन गरेको थियो । १५ दिनसम्म सञ्चालन गरेको अभियान अन्र्तगत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइएको छ । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स (गाभी)सँग सहुलियत मूल्यमा १७ लाख ७० हजार खोप खरिद गरेपछि सरकारले अभियानको रुपमा उक्त खोप लगाएको हो । सरकारले १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाउने लक्ष्य राखेको थियो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस सङ्क्रमण कम गर्न उक्त खोप लगाइएको हो । नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये सबभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिएकाले पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले खोप अभियान सञ्चालन गरेको हो ।

सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् । अभियानमा प्रदेशका १३ जिल्लाका दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखे पनि दुई लाख ५६ हजार १९१ जनाले मात्रै खोप लगाएका हुन् । प्रदेशको नुवाकोट जिल्लामा लक्ष्यको करिब शतप्रतिशत अर्थात् ११ हजार १६० किशोरीले खोप लगाएको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । दोलखामा ६ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखेको लक्ष्यको करिब ९९ प्रतिशतले खोप लगाएका छन् । यसैगरी, रामेछापमा ९८ प्रतिशत, सिन्धुपाल्चोकमा ९७ प्रतिशत, सिन्धुलीमा ९६ प्रतिशत किशोरीले एचपिभी खोप लगाएका छन् । बागमती प्रदेशको रसुवाका ९६ प्रतिशत, काभ्रेका ९६ प्रतिशत, धादिङका ९५ प्रतिशत, मकवानपुरका ९४ प्रतिशत, भक्तपुरका ८५ प्रतिशत, चितवनका ८४ प्रतिशत, काठमाडौं र ललितपुरका ७९ प्रतिशत किशोरीले खोप लगाएका छन् । विद्यालयमा खोप लगाउन छुटेका किशोरीलाई नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले एचपिभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रभावकारी हुने भने पनि नेपालमा अभियानको रुपमा यस पटक कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप लगाइएको छ । एक पटक लगाइएको एचपिभी खोपले जीवनभर काम गर्ने र पाठेघरको मुखको क्यान्सर रोकथाममा सबैभन्दा बढी प्रभावकारी देखिएको दावी गरिएको छ । बजारमा किनेर लगाउँदा एउटा खोपको मूल्य करिब ६ हजार रुपैयाँभन्दा बढी पर्ने भए पनि सहुलियत मूल्यमा खरिद गरेको खोप सरकारले अभियानको रुपमा निःशुल्क लगाउने व्यवस्था गरेको हो । गाभीसँग खोप खरिद गर्दा सरकारले एउटा खोपका लागि करिब ७ सय ५० रुपैयाँ खर्च गरेको छ । यो खोप सर्वसाधारणको पहुँचमा नभएका कारण सबै महिला र लक्षित उमेर समूहका बालिकाले खोपको अवसर पाउन सकेका छैनन् ।

एचपिभी भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेमा बढी हुने गर्दछ । नेपालमा बर्सेनि पाठेघरको मुखको क्यान्सरका कारण प्रतिवर्ष औसत एक हजार ४ सय महिलाको मृत्यु हुने गरेको छ । विकसित देशमा एचपिभी खोप सन् २००६ देखि नै लगाउन सुरु गरिएको भए पनि नेपालमा सन् २०१६ र २०१७ मा चितवन र कास्कीमा नमुनाको रुपमा सीमित बालिकालाई यो खोप लगाइएको थियो । सहज उपलब्ध नहुने र महँगो भएकाले सरकारले एचपिभी खोपलाई प्रभावकारी रुपमा सबै लक्षित समूहलाई उपलब्ध गराउन सकेको छैन । यसवर्ष अभियानकै रुपमा सरकारले लक्षित समूहका धेरै बालिकालाई खोप लगाएकाले आगामी वर्षबाट नियमितरुपमा खोप कार्यक्रम सञ्चालन गर्नु उचित हुनेछ ।