विश्वभर अहिले प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । प्रविधिको प्रयोगबिना कुनै पनि क्षेत्रमा प्रभावकारी कार्यसम्पादन हुन नसक्ने अवस्था बनिसकेको छ । नयाँ नयाँ प्रविधिको विकास र प्रयोगले मानिसका धेरै कामलाई सजिलो, छिटो र विश्वसनीय बनाएको छ । विश्वभर व्यापकरुपमा प्रयोग भएका प्रविधिहरुमध्ये क्लोज सर्किट (सीसी) क्यामेरा पनि एक हो । सार्वजनिक स्थान, राजमार्ग, सार्वजनिक निकाय, व्यापारिक तथा व्यावसायिक केन्द्रमात्र होइन, निजी व्यवसायदेखि आवास क्षेत्रमा समेत सीसी क्यामेराको प्रयोग उत्तिकै भइरहेको छ । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि पनि यस्तो क्यामेरा प्रयोग उपयोगी बनिरहेको छ । सीसी क्यामेरा प्रयोग बढ्दै जाँदा सरकारले नियमनको प्रयाससमेत गरेको छ । गृह मन्त्रालयले २०७२ सालमा सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको र त्यसलाई २०७५ माघमा परिमार्जनसमेत गरिएको छ । सीसी क्यामेराको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।
एक दशकभन्दा अघिदेखि हेटौंडा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको भए पनि पर्याप्त छैन । मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकारलगायतले हेटौंडा बजार क्षेत्रमा जडान गरेका सीसी टिभी क्यामेरा पर्याप्त हुन नसकेको हो । प्रहरीको तथ्यांकमा मकवानपुर जिल्लाभर सार्वजनिक स्थलमा १५९ वटा सीसी क्यामेरा छन् । तीमध्ये आधा क्यामेरा बिग्रिएर बन्द छन् । मकवानपुरका विभिन्न स्थानमा जडान भएको ७९ थान सीसी क्यामेरा बिग्रिएको र ८० वटा क्यामेरामात्र चलिरहेको प्रहरीको तथ्यांक छ । शान्ति सुरक्षालाई थप मजबुत बनाउन राजमार्ग क्षेत्र र बजार क्षेत्रमा कम्तिमा २९ ठाउँमा एएनपीआर सीसी क्यामेरा जडान गर्नुपर्ने प्रहरीको भनाइ छ । पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका पनि नचल्दा बढ्दो चोरीका घटनासहित आपराधिक क्रियाकलापमा संलग्नको पहिचान र दुर्घटना न्यूनीकरणमा प्रहरीलाई समस्या भइरहेको छ ।
हेटौंडाको मुख्य सडक, चोक र राजमार्गहरुमा पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण शान्ति सुरक्षामा चुनौती भइरहेको छ । बजार क्षेत्रका पसलमा चोरी हुने, पार्किङ गरेर राखेको मोटरसाइकल हराउने घटना दिनहुँजसो हुने गरे पनि सीसी क्यामेराको अभावमा प्रहरीलाई अपराधी पत्ता लगाउन कठिन हुने गरेको छ । बजार क्षेत्र तथा राजमार्गमा राखिएका सीसी टिभी क्यामेराहरुले खिचेका दृश्य जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रण कक्षबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ । प्रहरीले कार्यालयमै बसेर चौबीसै घण्टा निगरानी गर्न सक्ने व्यवस्थाले अपराध हुँदाहुँदै अपराधीलाई नियन्त्रण गर्नसमेत यसले सहयोग गर्दछ । प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघलगायत सबै सरोकारवाला मिलेर हेटौंडा बजार क्षेत्र र राजमार्गमा सीसी क्यामेराको उचित व्यवस्थापन गर्नु आवश्यक छ । यसले प्रहरीलाई सुरक्षा निगरानी र ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका जनधनको क्षति कम गर्नसमेत सहयोग र्पुयाउने छ ।
कसीसी क्यामेराले अपराध भइसकेपछिको अनुसन्धानमा सहजता ल्याउनेमात्र नभई अपराधलाई पनि कम गर्न सहयोग गर्दछ । सीसी क्यामेरा छ भन्ने थाहा भएमा आपराधिक व्यक्तिहरुमा अपराध गरेमा सजिलै पक्राउ परिन्छ भन्ने मनोवैज्ञानिक असर पर्ने कारण अपराध नियन्त्रण गर्नसमेत सहयोग र्पुयाउँदछ । हेटौंडा बजार क्षेत्रमा पनि जनसंख्या तथा सवारी साधनको चाप वृद्धि भएसँगै दुर्घटना र अपराधका घटना बढेको छ । बागमती प्रदेशको राजधानी रहेको हेटौंडाका सार्वजनिक स्थानमा पर्याप्त सीसी क्यामेरा नहुँदा यहाँका मन्त्रालयहरु तथा भीआईपी र भीभीआईपी लगायतका आवास गृह, सरकारी तथा गैरसरकारी कार्यालय, औद्योगिक क्षेत्र र व्यापारिक निकायको सुरक्षामा चुनौती देखिएको प्रहरीको भनाइ छ । प्रदेश राजधानी हेटौंडाको ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन बिग्रिएका सीसी क्यामेरा मर्मत र आवश्यक ठाउँमा नयाँ जडान गर्न सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक छ ।