हेटौंडा : हेटौँडा उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा जेठ ३ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नगरका १९ वटै वडाको सहभागिता रहने बताइएको छ ।

नगर खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी गराएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले प्रतियोगिता हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने जानकारी दिनुभयो । उपमहानगरपालिकाको २० लाख रुपैयाँको बजेटमा प्रतियोगिता हुन लागेको हो ।

नकआउट प्रणालीमा हुने प्रतियोगिताका विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उत्कृष्ट फरवार्ड, गोलकिपर, डिफेन्डर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । गत वर्ष सम्पन्न मेयर कपको उपाधि हेटौंडा–४ ले जितेको थियो ।