हेटौँडा : धादिङ जिल्लाको गजुरी गाउँपालिका–१, गजुरी बजारमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेर ५० मिनेटको समयमा पृथ्वी राजमार्गमा चालिसेबाट गल्छीतर्फ जाँदै गरेको बा प्र ०२–०५५ प ०५९८ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रीसहित स्कुटरमा सवार २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

स्कुटर चालक सिद्धलेक गाउँपालिका–७ बस्ने २८ वर्षीय मिलन मगर, पछाडी सवार ३२ वर्षीय अबिनास बिक र पैदलयात्री गजुरी गाउँपालिका–१, की ६७ वर्षीया पम्फा मिजार घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि पम्फा र मिलनका काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा पैदलयात्री पम्फाको राती ९ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।