लागूऔषध ओनरेक्ससहित पक्राउ परेका मुम्ताज ।

हेटौँडा : बाराबाट काठमाडौं चल्ने टाटा सुमोका चालकले स्पेयर टायरभित्र लुकाएर लागूऔषध तस्करी गर्ने क्रममा पक्राउ परेका छन् । मकवानपुर प्रहरीले मंगलबार बिहान ६ बजेर ५ मिनेटको समयमा बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमो जीपलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा १ सय मिलिलिटरको २ सय २५ बोतल लागूऔषध ओनरेक्स बरामद गरेको छ ।

हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट प्रहरीले लागूऔषध बरामद गरेपछि पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मियालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुमोमा यात्रा गर्ने यात्रुको समेत विवरण संकलन गरेर छाडेको छ । सुमोको हुटमा राखिएको स्पेयर टायरमा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको लागूऔषधसहित सुमो जीप र मुम्ताज अन्सारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।