हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रका लागि संस्थागत विद्यालयको शिक्षण शूल्क निर्धारण गर्न सकेको छैन । नयाँ शैक्षिकसत्र सुरु भएर विद्यालयमा भर्नाको क्रम जारी रहँदा उपमहानगरपालिकाले भने शिक्षण शूल्क निर्धारण गर्न नसकेको हो । हेटौँडा उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रमै विद्यालयलाई शूल्क प्रस्ताव पेश गर्न भने पनि शूल्क निर्धारण गर्ने जिम्मेवारी पूरा गर्न भने उपमहानगर असमर्थ भएको हो ।
नयाँ शूल्क निर्धारण नगरिएकोले साविककै शूल्क लिन भनेर विद्यालय सञ्चालकलाई निर्देशन दिएको बताइए पनि उपमहानगरपालिकाले आवश्यक अनुगमन गरेको छैन । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले शूल्क निर्धारण एक साताभित्र हुने दावी गर्नुभयो । तत्काल शूल्क निर्धारण नभए पनि साविककै दरमा शूल्क दिन विद्यालयलाई भनिएको उल्लेख गर्नुहुँदै महाशाखा प्रमुख कोइरालाले साविककै शूल्क लिए, नलिएको विषयमा अनुगमन नभए पनि पछि अनुगमनका क्रममा सच्याउन सकिने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकामा ५२ वटा संस्थागत विद्यालय भए पनि गत ३७ वटा विद्यालयले मात्रै हेटौँडा उपमहानगरपालिकामा शूल्क प्रस्ताव बुझाएको छ । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठले पालिकाले शिक्षण शूल्क निर्धारण नगरेकोले साविककै शूल्क लिएको दावी गर्नुभएको छ ।