हेटौँडा : बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुल क्षेत्र प्राथमिकतामा पर्न नसकेको गुनासो गर्नुभएको छ । प्रदेश सरकारको बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको उहाँले बताउनुभयो ।
मंगलबार हेटौँडामा खेलकुद पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खेलकुद क्षेत्रलाई पर्याप्त बजेट नदिँदा खेलाडीहरुमा नैराश्यता पैदा भएको बताउनुभयो । खेलकुद क्षेत्रमा राज्यको चासो कम पर्दा विदेशिने युवाहरुको संख्या बढिरहेको उहाँको भनाई छ । उहाँका अनुसार युवा पलायन रोक्न पनि खेलकुद क्षेत्रमा बजेट बढाउन जरुरी छ । खेलकुद क्षेत्र नचिनेका मान्छे मन्त्री बन्दा समस्या भएको उहाँको जीकिर छ ।
‘बागमती प्रदेश खेलकुदको हव हो । बागमती प्रदेशका ८० प्रतिशत खेलाडीहरुले देशमा प्रतिनिधित्व गरेको छ । तर, खेलकुद मन्त्रालयको चालु आर्थिक वर्षमा ७४ करोड बजेटको सिलिङ रहेको छ । २४÷२५ करोड रुपैयाँ चालु खर्च हुन्छ । बाँकी रकमले खेलकुद क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको छ ।’ मन्त्री महर्जनले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा पनि पुरानै शैलीमा ६१ करोड रुपैयाँको सिलिङ तोकिएको छ । प्रदेश सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पर्न सकेको छैन ।’
प्रदेश सरकारको देखिने र युवा तथा नागरिकहरुसँग प्रत्यक्ष जोडिएर काम गर्ने खेलकुद मन्त्रालय भएपनि सरकारका नेतृत्वमा रहेका व्यक्तिहरुलाई खेलकुदको अवस्था बारे बुझाउन नसकिएको उहाँले बताउनुभयो । सरकारको नीति ‘एक स्थानीय तह, एक खेलकुद मैदान’ भएपनि सो अनुसार बजेट दिन नसकेको उहाँले जानकारी दिनुभयो । खेलकुद र खेलाडीलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास पुरानो ढर्राबाट हुन नसक्ने बताउनुभयो । नयाँ ढंगबाट लगानीको उत्पादन अध्ययन गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सम्भाव्यता अध्ययन गरेर सरकारले लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । जनघनत्व र आवश्यकताको आधारमा लगानी गरेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
सरकारको राजस्व वृद्धि गर्नेगरी पूर्वाधारको निर्माण र संचालन गर्नुपर्ने सदस्य सचिव लामाले बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रम निर्माण गरेर विद्यालयस्तरमा अध्यापन गर्ने गरी सरकारले काम गरिरहेको छ । खेलकुदका सामान्य ज्ञानलाई पाठ्यक्रममा समावेश गरी खेलाडीहरुलाई जानकारी गराउन जरुरी रहेको उहाँले बताउनुभयो ।