
हेटौँडा : विद्यालय शिक्षकको आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि १२ कक्षाको वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । वैकल्पिक जनशक्ति व्यवस्थापन गरेर भए पनि १२ कक्षाको वार्षिक परीक्षा लिने निर्णय मंगलबार बोर्डले गरेपछि हेटौँडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले आवश्यक तयारी गरिरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका निमित्त प्रमुख जनार्दन बास्तोलाले परीक्षा सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्लास्तरीय परीक्षा समन्वय समितिलाई परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हेटौँडास्थित कार्यालयले मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहट जिल्लामा परीक्षा सञ्चालनको आवश्यक तयारी गरिरहेको छ ।
२४ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुगिसकेको छ । बोर्डको हेटौँडास्थित कार्यालयले हेर्ने मकवानपुरसहित ५ जिल्लामा १ सय ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ४७ हजार ७ सय ८३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । मकवानपुरमा २१ वटा परीक्षा केन्द्र तोकिएको छ भने चितवनमा ५२, रौतहटमा ३१, बारामा २३ र पर्सामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरमा ७ हजार २ सय ८९ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने चितवनमा १४ हजार ४ सय २४, रौतहटमा ८ हजार ७ सय ५९ जना, बारामा ७ हजार ४ सय ४८ जना र पर्सामा ९ हजार ८ सय ६३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।
शिक्षक आन्दोलनकै कारण कक्षा–१२ को वार्षिक परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रम हुन सकेको छैन । सम्बन्धित विद्यालयले विद्यार्थीको प्रवेशपत्र वितरणको कार्य गरेको र केन्द्रको निर्णयअनुसार परीक्षाका लागि आवश्यक तयारी भइरहेको निमित्त प्रमुख बास्तोलाले जानकारी दिनुभएको छ ।