हेटौँडा : शिक्षक आन्दोलनका कारण हेटौँडा उपमहानगरपालिकामा कक्षा–८ को ग्रेडवृद्धि मौका परीक्षा प्रभावित भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आज बुधबारदेखि तय गरेको ग्रेडवृद्धि मौका परीक्षा शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो ।
मंगलबार साँझ शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिसहित महासंघमा आवद्ध र सम्बन्धित नगरस्तरीय संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर शिक्षक आन्दोलन जारी रहेका बेला ग्रेडवृद्धि मौका परीक्षा सञ्चालन नगर्न, नगराउन प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई आव्हान गरेको थियो । हेटौँडा उपमहानगरले बैशाख १० गतेदेखि १५ गतेसम्मका लागि ग्रेडवृद्धि मौका परीक्षाको तालिका सार्वजनिक गरेको थियो ।
शिक्षक महासंघको आव्हानमा शिक्षक संगठनहरु र शिक्षकहरुले नै परीक्षा सञ्चालन गराउने अवस्था नभएपछि शिक्षा महाशाखाले बुधबार साँझ परीक्षा स्थागित गर्ने निर्णय गरेको शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । हेटौँडा उपमहानगरपालिकामा ५३७ जना विद्यार्थी ननग्रेडेड भएका थिए । यसअघि मनहरी गाउँपालिकाले पनि कक्षा–८ को मौका परीक्षा स्थगित गरेको थियो ।