हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुनप्रसाद तिवारीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । सोमबार हेटौँडा उपमहागरपालिकाको सभाहलमा नगरप्रमुख मीनाकुमारी लामाले नवनिर्वाचित वडा अध्यक्ष तिवारीलाई सपथ ग्रहण गराउनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्राईको उपस्थितिमा वडा अध्यक्ष तिवारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो । सपथग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको उपस्थिति रहेको थियो ।
आइतबार भएको मतदानबाट तिवारी २ हजार ६३ मतसहित अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रविकुमार प्रधान (रविन) ले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको थियो भने अर्का आकांक्षी राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत पाउनुभएको थियो । प्रधान नेकपा माओवादी केन्द्रका उम्मेदवार हुनुहुन्थ्यो भने नगरकोटी नेकपा एमालेका उम्मेदवार हुनुहुन्थ्यो ।