राष्ट्रसेवकको रुपमा पाईने तलब, भत्ताले जेनतेन गुजारा चलाउन सकिने तर आफ्ना लालाबालाको उच्च शिक्षा पूरा गर्न कठिन देखेर यो पंक्तिकार पनि २०६० सालमा देश छाडेर सात समुन्द्र पारीको देश मलाया अर्थात मलेसिया भासिनु परेको थियो ।
मलेसियाको जोहोर राज्यको बातुपहात भन्ने जिल्लाको सदरमुकाम बातुपहातको काम्पोंग (गाउँ) मर्डेका (स्वतन्त्र) अर्थात काम्पोंग मर्डेकामा थुप्रै आप्रबासी भारतीय शिख, पन्जाबीदेखि तामिलहरु थिए । पंक्तिकार बसेको भाडाको घर आप्रबासी भारतीय पन्जाबी रञ्जित सिंहको भारतीय राष्ट्रभाषा हिन्दी, मातृभाषा पन्जाबी दक्षिण भारतको भाषा तामिल, चिनियाँ भाषा मान्दारिनदेखि अंग्रेजीमा समेत राम्रो दक्खल थियो । तर घरबेटी रञ्जित सिंहको हिन्दी भाषा बेलायतीको जस्तो थियो ।
रञ्जित सिंहको धर्मपत्नी पनि पन्जाबी मूलकी थिईन् । पंक्तिकारले एकपटक ‘भाबिजी आपको अपना जन्मभूमि हिन्दुस्थान कैसा लगता हे ?’ भनेर सोध्दा ‘मुझे तो बहुत अच्छा लगता है लेकिन मेरेको हिन्दि बोल्नेमे थोडी सरम आती हे’ भनेर जवाफ दिँदा आफ्नै राष्ट्रभाषा बोल्नु पर्दा शरम मान्नु पर्ने ? भनेर पंक्तिकार अचम्ममा परेको थियो ।
हिजो अंग्रेजहरुले संसारको धेरै मुलुकहरु कब्जा गर्ने सिलसिलामा गोर्खाली फौजको सहयोगमा दक्षिण पूर्बी एसियाको धेरै देशहरु आफ्नो अधिनमा पारेका थिए । सोहि सिलसिलामा अंग्रेजहरुको शासनकालमा रञ्जित सिंहको बाजे पनि मलेसिया पुगेका रैछन । बाजे पछि बाबु । रञ्जित सिंहको जन्म मलेसियामा नै भएपछि उसले शुद्ध हिन्दी बोल्न नसक्नु उसको बाध्यता थियो भने उसको पत्नीलाई हिन्दी बोल्न शरम लाग्नु कुन चै ठूलो कुरो भयो र !
४ अप्रिल १९७९ मा पाकिस्तानका पूर्व राष्ट्रपति÷प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई फाँसीमा झुन्ड्याएर मारियो । सोहि विषयलाई लिएर तत्कालिन पञ्चायती शासनमा नेपालमा समेत व्यापक बिरोध भएको थियो । पछि भुट्टोकी छोरी बेनजिर समेत पटक–पटक सत्तामा पुगिन् । तिनको पनि २७ डिसेम्बर २००७ मा हत्या गरियो । अहिले पाकिस्तानमा स्व. जुल्फिकार अलि भुट्टोको नाति बेनजिर भुट्टोको छोरा बिलाबल भुट्टो जर्दारीले बाजेले स्थापना गरेको राजनीतिक पार्टी पाकिस्तान पिपुल्स पार्टी हाँकेर पार्टी तथा सत्ताको स्वाद लिँदैछन् । पाकिस्तानको राष्ट्रिय भाषा उर्दु हो तर बिलाबलको उर्दु लवज पनि उही मलेसियाको आप्रबासी रञ्जित सिंहको जस्तै छ । बेलायतमा जन्मेर हुर्केपछि बिचराले कसरी शुद्ध उर्दु बोल्न सक्नु ।
छिमेकी देश भारतमा हजारौं वर्ष व्यापार गर्न आएका गोराहरुले छलकपट गरेर सत्ता हत्याए । सत्ता मात्र हत्याएनन् देशको धर्म, संस्कृतिदेखि भाषा माथि समेत प्रहार गरे । सिंगो हिन्दुस्तानलाई अहिले दक्षिण तिरकाले ईन्डिया, उत्तरतिरकाले भारत भनेर चिन्छन् भनेर अंग्रेजदेखि चीनले हिन्दुस्तानी भन्छन् । चिनियाँमूलका आप्रबासीहरुले पुरानो दुश्मनी सम्झेर होला हिन्दुस्तानीहरुलाई फिटिक्कै मन पराउँदैनन् । यो पंक्तिकारले मलेसिया बस्दा बटुलेको अनुभव हो ।
जुन दिनबाट अंग्रेजले भारतदेखि अन्य देशहरुलाई आफ्नो अधिनमा पारे ति देशहरुमा अंग्रेजी भाषाले फल्ने फुल्ने मौका पाउनु कुन ठुलो कुरो भयो र । अहिले सरकारी कागजातमा हिन्दी, मलाया होइन अंग्रेजी भाषाको दबदबा कायम छ भने भारतीयहरुले शुद्ध हिन्दी बोल्न नसक्ने भएर होला हिन्दीको साटो इंग्लिस मिस्सिएर हिंग्लिसको दबदबा कायम छ ।
उत्तरी होइन दक्षिणी छिमेकको दबदबा कायम छ नेपालमा । बिदेश जानु पर्यो भने आफ्नो परिचयात्मक अभिलेख जसलाई अंग्रेजी भाषाको बायोडाटामा भाषाको महलमा अंग्रेजी, हिन्दी र नेपाली लेख्न हामी लाज मान्दैनौं । अहिले नेपालीहरुले आफ्नो शुद्ध नेपाली भाषा बोल्न र लेख्न जान्दैनन् । एउटा सानो उदाहरण, सबै भन्दा ठूलो भन्न छाडेर ‘सबसे बडा’ अनि आजकलका अंग्रेजी पढ्ने भुराहरुले पाल्नुभयो, आउनु भयो भन्न छाडेर ‘पधार्नु भयो’ भन्न थालेका छन् ।
मनोरञ्जन भनेको आनन्द लिने एउटा विधा हो । हाम्रा युवाहरु आजकल सय शब्द नेपाली भाषामा आधा अंग्रेजी, २५ प्रतिशत हिन्दी र बाँकी २५ प्रतिशत नेपाली मिसाएर बोल्न र लेख्न रुचाउँछन् । उदाहरणका लागि चलचित्र हुन् या हाँस्य कार्यक्रम । अहिले प्रख्यात बनेको हाँस्य कार्यक्रम ‘कमेडी च्याम्पियन’ लाई हेर्नुस् । यो नेपाली भाषाको शीर्षक हो कि अंग्रेजी भाषाको शीर्षक ? पंक्तिकार आफैँ रनभुल्लमा परेको छ । त्यस्तै हाँस्य कलाकार जितु नेपालले बनाएको चलचित्र ‘ह्यारी कि प्यारी’ रे । प्यारी त नेपाली भाका भो तर ह्यारी भनेको चै के हो ? मनोरञ्जन लिनु पर्छ तर त्यसको मतलब आफ्नो भाषा छाडेर विदेशी भाषाको शरण पर्नु ठिक होइन ।
अझै पनि हाम्रो गाउँघरतिर बोलिचालीदेखि गीतहरुमा ठेट शब्द प्रयोग गर्ने गरिन्छ । जस्तै दोलखा भीमसेनको ठाउँमा दोल्खा भिउसिन, भात तरकारी नभनेर भात तिहुन भन्ने गरिन्छ तर अहिले ठूला–वडालाई भुजा खान आइस्योस्, भान्छा गर्न पाल्नुस् अनि सानालाई भात खान आओ भन्न छाडेर खाना खान आउनुस्, खाना खान आइजा भन्छन् ।
पंक्तिकारले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर (एक्स) प्रयोग गर्ने गरेको छ । पंक्तिकारले प्रस्तुत गरेको धेरै लेखन टिप्पणीमा तपाईले लेखेको शब्द नै बुझिदैन भनेर प्रतिक्रिया आउने गरेको छ भने पंक्तिकारले पनि अब हिंग्लिसदेखि नेंग्लीस कै सहारा लिनु पर्ने त होइन ? लाज–शरम–घिन नमानिकन विदेसीसँग हात फैलाउनु पर्ने चलन बसालेको नयाँ गणतन्त्रे नेपालमा नेपाली भाषाको जगेर्ना गर्न पनि विदेशीकै सहायता लिनु पर्ने हो कि ? आफ्नो भाषा, लवज अनि लेखाइको अभ्यास गर्ने गराउने प्रचलन आफैले बसाल्ने हो ? आजको खाँट्टी प्रश्न यहि नै हैन र ?