शवदाह मेसिनको तस्वीर ।

हेटौंडाः हेटौंडा–१०, राप्ती नदी किनारमा रहेको शवदाह मेसिनको मर्मत भएको छ । करिब १ महिनाअघि नै बिग्रिएको शवदाह मेसिनको मर्मत कार्य बुधबार सकिएको हो । शवदाह मेसिन जडान गरिएको ५ वर्षमा मेसिनभित्र फलामहरुको संरचनामा खराबी हुने र फलाममा बढी तापक्रम उत्पन्न भई फलाम खाँदिएको कारणले बिग्रिएको हेटौंडा उपमहानगरपालिकाको वातावरण शाखाका केशव प्रसाद देवकोटाले जानकारी दिनुभएको छ ।

मेसिन मर्मतका लागि भारतको गोरखपूरबाट प्राविधिकको टिम आएका थिए । तिहार, छठ लगायतको पर्वको कारणले मर्मतमा ढिलाई भएको देवकोटाले जानकारी दिनुभयो । मर्मत सम्पन्न भएको मेसिनमा भर्खरै नयाँ सिमेन्टी हालेको कारणले १ साता सिमेन्ट तयार हुन लाग्ने उहाँले बताउनुभयो । मेसिनलाई राम्ररी मर्मत गर्न बाहिरबाट फरक तरिकाको सिमेन्ट ल्याएर परिवर्तन गरेको बताउनुभयो । शवदाह मेसिनको भित्रपट्टी फलामको सामग्रीलाई आगोले खाएको, सिमेन्ट जाम भएको उहाँको भनाई छ । कार्तिक २३ गतेदेखि मेसिन मर्मतको कार्य सुरु गरिएको थियो ।

मेशिन मर्मतका लागि आवश्यकता अनुसार कामहरु तिहार अगाडि सरसफाइ, बिग्रिएको पुरानो फलामलाई फुटाउने, आवश्यकता अनुसार काटकुट गर्ने गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “छठ पर्व सकिएसँगै सामानहरु आएर मर्मतको काम सुरु गरेका थियौँ । स्थानीय बजारमा पाउने सामानहरु यहीबाट लिएको र बाहिरबाट ल्याइएको उहाँको भनाई छ । दाह संस्कारस्थलका कामदार अवतार तितुङले मेसिनमा समस्या आएका कारणले दाह संस्कार गर्नका लागि मानिसहरुलाई समस्या परेको उहाँले बताउनुभयो ।