बिमल केशरी पौड्याल

नेपालमा वामपन्थी भनिएका ‘कम्युनिष्ट’ शव्दावलीको अझै पनि वर्चस्व छ । ठुला वामपन्थी पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत स–साना वाम पार्टीहरु थुप्रै अस्तित्वमा छन् । आम जनताले ‘कम्युनिष्ट’ शव्दकै आधारमा यी पार्टीहरुलाई मत दिइरहेका छन् । पार्टीहरु जनताको मत पाएर जनताको समस्या समाधान गर्नेतर्फ खासै चासो नदिएर सत्ता उपभोगमा नै मस्त छ । वामपन्थीहरु दुईथरिका छन् । सत्ताको वरिपरि रहिरहेका र सत्ता बाहिर रहेका । सत्ता वरिपरि रहेकाहरु आफ्नो सरकारको पालामा राम्रा कामहरुको थालनी गरे भन्ने भाष्य खडा गरिरहेका छन् ।

सत्ता बाहिर रहेकाहरु सत्तामा रहेका र उपभोग गरेका वामपन्थीहरुले देश बिगारे, गलत बाटोमा डो¥याए र जनताको समस्यालाई वास्तै राखेनन् भन्ने अर्को भाष्य निर्माणमा लागेका छन् । सत्तामा निर्वाचित भएर गएका वामपन्थी प्रतिनिधिहरु मध्ये कहिले राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन् । तर, समग्रमा स्थिति निराशाजनक छ । आम जनतामा, अझ उच्च वर्गमा आक्रोश, निराशा, कुण्ठा र छटपटी देखिन्छ । यो पृष्ठभूमिमा गीत संगीतको माध्यमबाट बालेन शाह, टेलिभिजन कार्यक्रमबाट रवि लामिछाने जस्ता प्रियतावादी तर राजनीतिक पृष्ठभूमि नभएका र कमजोर धरातल भएका व्यक्तिहरुले उदाउने मौका पाएका छन् ।

वर्तमानको धरातलीय यथार्थ हो, सत्ता बाहिर रहेका वामपन्थीहरु, सत्तामा गएका वामपन्थीहरुबाट आक्रोशित वुद्धिजिवीहरु, वाम विचारधारामा विश्वास गर्ने शुभचिन्तकहरुको ठूलो जमात चिया पसलमा, भेटघाटमा वा कुनै छलफलमा चिन्ता, आक्रोश व्यक्त गर्छन् । एकथरी वामपन्थीहरु यो व्यवस्था नबदलिकन अवस्थामा सुधार हुन सक्दैन भन्ने मान्यता राख्छन् । अर्को थरि वर्तमान संविधानले दिएको व्यवस्था भित्रबाटै पनि अवस्था बदलिन सकिन्छ भन्ने विश्वास राख्छन् । यसरी वामपन्थीहरु एक अर्कोलाई दोषारोपण गर्दै आफुलाई सच्चा, खाँटी क्रान्तिकारी ठह¥याउने अनावश्यक र आत्मघाती बाटोमा लागेका छन् ।

पुँजीवादीहरुले चाहेअनुसार वामपन्थीहरु विभाजनको बाटोमा हिँडिरहेका छन् । यो क्रियाकलापबाट उब्जेको मूल प्रश्न हो, यसबाट फाइदा कसलाई भयो ? के आम जनताले सुख, सुविधा प्राप्त गरे वा उनीहरुको जनजीविकामा उल्लेखनीय प्रगति भयो ? के आम जनताले रोजगारी, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यक सुविधाहरुमा सहज पहुँच पाए ? के देश आत्मनिर्भर अर्थतन्त्रको बाटोमा गयो ? यी प्रश्नहरुको जवाफ खोज्नु पर्ने बेला भइसकेको छ ।

नेपाली जनताको ठूलो हिस्साले वामपन्थी विचारधारालाई समर्थन गरेको र पुँजीवादी शक्तिले वाम विचारधारा राख्ने व्यक्ति र संस्थाहरुमा विभाजन ल्याउने प्रवृत्तिको साथै आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको प्रस्टै देख्न सकिन्छ । वर्तमान संविधानका मुलभूत आधारहरु गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशीलाई शक्तिबाट पखालिएका राजावादीहरु, प्रियतावादीहरु र हिन्दु राष्ट्र समर्थकहरु उल्ट्याउने प्रयास गर्दै छन् । वामपन्थीहरुको अबको बाटो भनेको वर्तमान संविधानको कमि–कमजोरीलाई सच्याउन सार्थक पहल गर्नुका साथै जनताका आधारभूत आवश्यकताहरु, रोजगारी सृजना (युवाहरुको भयावह पलायन रोक्न ), शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी र गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा एक ढिक्का भै सशक्त आन्दोलन गर्ने र सत्तामा जोसुकै, जुनसुकै पार्टी भए पनि कार्यान्वयनमा जोडदार पहल गर्ने हो ।