हेटौँडाः मंसीर १६ गते अर्थात् पर्सी आइतबार हुने उपनिर्वाचनमा आआफ्ना दलका उम्मेदवारको प्रचारप्रसारमा राजनीतिक दलका नेताहरु बिहीबारसम्म टोलटोलमा पुगेका छन् । हेटौँडा–१२ मा वडाअध्यक्ष पदका आफ्नो दलका उम्मेदवारलाई जिताउन मत माग्दै नेताहरु टोलटोलमा पुगेका हुन् । यसैबीच बिहीबार मध्यराती १२ बजेपछि मौन अवधि सुरु भएको छ ।
मुख्य दलहरु बीचको प्रतिस्पर्धा हुने सम्भावना देखिएको हेटौंडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा नतिजा निकाल्न दलहरु घरदैलो र आमसभामा केन्द्रीत रहेका छन् । १२ उम्मेदवार बीचको प्रतिस्पर्धामा ९ जना दल र ३ जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उक्त वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले पहिलो चरणको घरदैलो कार्यक्रम सकेका छन् । मौन अवधी सुरु हुनु पूर्व उम्मेदवारहरु मत माग्न नै व्यस्त देखिए ।
विशेषगरी माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले बीचको प्रतिस्पर्धात्मक निर्वाचन हुने अवस्था देखिदै गरेको अवस्थामा उक्त दलहरु कोणसभा र आमसभामा केन्द्रीत भएका थिए । कांग्रेसले उक्त वडाको ४ स्थानमा कोणसभा गरेको छ भने एमाले मतदाता भेटघाटमा दलबलसहित टोलटोलमा पुगेको थियो । माओवादी केन्द्रले पार्टीका नेताहरुसहित वडा कार्यालय सँगैको चोकमा आमसभा आयोजना गरेको थियो । माओवादीले पार्टीको पोलिटव्यूरो सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पोलिटव्यरो सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, विजय गौतम लगायतको उपस्थितिमा हात्तिगौडा चोकमा आमसभा आयोजना गरेको थियो ।
यता कांग्रेसले बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँसहितको उपस्थितीमा सोल्टीचोक, आल्दमार, भोर्ले, हात्तिगौडा र सचिवालयचोक सिग्रेनीमा कोणसभा आयोजना गरेको थियो । नेकपा एमालेले भने संघीय सरकारका मुख्य सचेतक महेश कुमार बर्तौला, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ लगायतको उपस्थितिमा नागरिकहरुसँगको भेटघाटमा टोल–टोल पुगेका थिए ।