हेटौंडाः रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जारी मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर प्रवेश गरेको छ । शनिबार कटहरियामा भएको सेमीफाइनल खेलमा जनकपुरलाई १ सय २३ रनले हराउँदै मकवानपुरले फाइनलमा आफ्नो स्थान बनाएको थियो । आज सोमबार हुने फाइनल खेलमा मकवानपुरले उपाधि लागि आयोजक कटहरिया नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

मकवानपुर क्रिकेट टिमको टिम कप्तान सुमन सुनारले प्रतियोगितामा सबै खेलाडीहरुको प्रस्तुतीलाई मूल्याङ्कन गर्दा जित्ने अपेक्षा गरेको बताउनुभएको छ । मकवानपुरको क्रिकेट टिम नियमित प्रशिक्षणमा रहीरहेकोले उच्च मनोवलका साथ प्रस्तुत हुने कप्तान सुनारको भनाइ छ । विभिन्न प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको खेल प्रदर्शन, उनीहरुको रुचि, क्षमता मिहिनेत र लगनशीलताको आधारमा पहिलै १४, १५ जना खेलाडीहरु छनोट गरेर मेयरकप क्रिकेट प्रतियोगितामा सहभागी गराएको उहाँको भनाई छ ।सुवर्ण भट्ट र आफ्नो नेतृत्वमा जिल्लालाई अब्बल देखाउनका लागि कसरी प्रदर्शनी गर्ने भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

मेयरकप क्रिकेट प्रतियोगितामा १९ वर्ष उमेर समूहका जुनियर टिमलाई पनि खेल्ने मौका दिएको सुनारले बताउनुभएको छ । हेटौँडामा क्रिकेटको प्रशिक्षणका लागि हेटौंडा–४, हुप्रचौरको विकल्न नहुँदा समस्या भएको उहाँले बताउनुभएको हो । हेटौंडा–६ स्थित गौरिटार रंगशालामा क्रिकेट मैदान निर्माण भएपछि उत्तै क्रिकेटको नियमित प्रशिक्षण गर्ने बताउनुहुँदै टिम कप्तान सुनारले तबसम्म हुप्रचौरमै जसोतसो प्रशिक्षण गर्नुपर्ने प्रष्ट पार्नुभयो ।

मकवानपुर जिल्लामा अहिले १९ वर्ष उमेर समूहका नयाँ खेलाडी आशिक अधिकारी, गोकुल अधिकारी, राजा अहमद र रोहित ठाकुरले सिनियर टिमबाट डेब्यु गरेको उहाँले बताउनुभयो । १९ वर्ष उमेर समूहको खेलाडीहरुमा मकवानपुरको टिम कप्तानको भूमिका गोकुल अधिकारीले निर्वाह गर्ने गरेको छ ।

यसअघि पनि मकवानपुर जिल्लाको क्रिकेट टिमले जिल्ला बाहिरका प्रतियोगिताहरुमा सहभागी भएर ट्रफी उचाल्न सफल भएको उहाँले स्पष्ट पार्नुभयो । मकवानपुर उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । कात्तिक १६ गतेबाट सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लासहित ८ वटा टिमको सहभागिता रहेको थियो ।रेडियो निकास