हेटौँडा : संघीय गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान समीकरण निर्माण भएको बताउनुभएको छ । उहाँले संघीय गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै विकास र समृद्धिका लागि दुई ठूला दल मिलेर सरकार बनेको बताउनुभयो ।
हेटौँडामा मंगलबार दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दलका गठबन्धन सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्ने गरी अघि बढेको उहाँले बताउनुभयो । सेवा प्रवाहमा रहेका कानूनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उहाँले जानकारी गराउनुभयो ।
सरकारले व्यावसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढिरहेको उहाँको भनाई छ । देश विकास निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । अर्थतन्त्र सुधार्न र रोजगारी सृजना तथा विकास निर्माणमा ठूलो भुमिका रहेको उहाँको भनाई छ ।
‘निर्माण व्यवसायीको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ । तपाईहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु’, गृहमन्त्री लेखकले भन्नुभयो । निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफलयोग्य रुपमा अघि बढाउने गरी समयसीमा भित्रै गुणस्तरीय काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।