सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौँडा : बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताका लागि कर्मचारीले नगद सहयोग गरेका छन् । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका कर्मचारीले बागमती–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा जारी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका लागि सोमबार नगद सहयोग गरेका हुन् ।

प्रतियोगिताका लागि पालिकाका कर्मचारीहरुले १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि विभिन्न संघ, संस्था, जनप्रतिनिधि, कर्मचारी र खेल क्षेत्रमा रुचि भएका पदाधिकारीहरुबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष थिङले बताउनुभयो ।